Popular Posts

Wednesday, December 2, 2015

चुरो कुरो क्षणभङ्गुरता रहेछ

(कविता )
चुरो कुरो  क्षणभङ्गुरता रहेछ 

सरण राई

मेरो के छ ? को छ ?
अगाडि हेर्छु.... रित्तो
पछाडि हेर्छु.... खाली रित्तो
आफैँलाई पाउँछु...एक्लो एक्लो

सांसारिक यथार्थका ज्वालाले भष्म नपारेको
हावा–हुरी,बाढी–पहिरो, भुकम्पले ढाल्न नसकेको
एक मुट्ठी प्राण जहिलेसम्म रहन्छ सबथोक मसँग हुन्छ

एक मुट्ठी प्राण जोगाउनै पर्छ भनेर
थोपा थोपाहरू थोपाहरूकै खोला, नदी र समुद्रमा जोगिएको सम्झेर
मान्छे मान्छेहरूसँग मिसिन्छु
मिसिनु कति गाह्रो ? कति साह्रो ?
अगाडिकाले घचेटेर पछाडि पुर्याउछन्
पछाडिकाले ठेलेर फुटपाथ पुर्याउछन्
सर्वसाधारण आममान्छेको लहरमा उभिन्छु ...सडकमा
जीजिविषाको प्रतिस्पर्धामा पेलिएर ठेलिएर पुग्छु... मसानघाटमा

म के हुँ ? को हुँ ?
मसानघाट ज्ञान दिलाउँछ
चुरो कुरो... क्षणभङ्गुरता रहेछ !

***
२०७२ साउन १५, सुकेधारा