Popular Posts

Sunday, November 3, 2013

जीवन परीक्षा

जीवन परीक्षा

सरण राई

जीवनको
हर पल हर घडी
परीक्षाको घडी

उन्नति, अवनति, आरोह, अवरोह
उकाली, ओराली, उज्यालो, अँध्यारो
प्रेम, घृणा, जीत–हार
सङ्घर्ष–सङ्ग्रामका घडी

कुन, के र को महत्वपूर्ण
टाल्सटायलाई मनमा कुँ देर
जे, जे, जुन फाँटमा छ
योद्धा भइ वीरतापूर्ण लडिरहनु
डार्विन सत्य भए
लड्दै गन्तव्यमा पुग्नु जीवन हो
जीवन परीक्षामा उत्तीर्ण हुनु हो, र
जीवन परीक्षा हो
परीक्षा जीवन हो ।

जीवन परीक्षामा उत्तीर्ण हुनेहरूको भागमा
सुख, मनोरञ्जन, आनन्द, भोग, उन्नति, उचाइ, महानता
उपलब्धी, गौरव मात्र पर्छ भन्नु
अज्ञानताको भ्रम हुन सक्छ
जाँच फेल भएकाहरू पनि बाँचिरहेका छन्
सन्तोषसँग जीवन बगैचामा पुष्प समान हाँसिरहेका छन्
सांसारिक जीवनको सौन्दर्य
सक्रियता,सेवा, संयम र धैर्य
मुटुभित्र दुःख लुकाएर
मुसुमुसु मुस्कुराउने महान्
परीक्षा हो परीक्षा सधैँ जीवन ।

कहाँ छैन परीक्षा
कहाँ लिइदैन परीक्षा
परीक्षा प्रेममा लिइन्छ
घृणा पनि जाँचिन्छ
प्रेमको कति गहिराइसम्म
प्रेमी पुग्न सक्छ प्रेमिका जान्न चाहन्छे
हर पल हर घडीमा
जीवनको हर क्षण, हर दिन–रातमा
परीक्षा भइरहेको हुन्छ

परीक्षा लिनेभन्दा दिनेहरू महान् हुन्
सत्यवादी हरिश्चन्द्रजस्ता सबै कहाँ हुन्छन् र
गणितमा फेल भएका आइन्स्टाइनजस्तै
महान् मुर्ख प्रेमी भ्यान गोगजस्तै
प्रेम परीक्षामा फेल हुन सक्छौँ , र
अथाह घृणा राशी बोकेर युद्ध मैदानमा होमिन्छौँ
प्रेम नभए घृणा पनि हतियार हुन सक्छ
त्यही हतियारले जीवन–युद्ध लड्छौँ
जीत हार बहाना मात्र हो
परीक्षा दिइरहनु बाँच्ने सहारा हो ।

आऊ, जीवन यात्रामा
हातेमालो गरौँ
जहाँसम्म सकिन्छ मिलेर जाऔँ
बाटो आ–आफ़्नो....गन्तव्य जहाँबाट छुटिन्छ
छुट्टिनुभन्दा अगाडि
सँगसँगै बसेर प्रेम परीक्षा दिऊँ
पास फेल जे भए पनि मनको धोको पु¥याऊँ
परीक्षाको घाउ घाउ, प्रेमको घाउ घाउ
बोकेर
एक्लै एक्लै आफ़्नो गन्तव्यतर्फ जाऊँ
एक्लै आएको हामी
एक्लै मृत्युको काखमा जानु छ
हॉसीहाँसी मृत्युवरण गर्न सक्ने
अन्तिम परीक्षामा उत्तीर्ण हुनु छ ।

जीवन परीक्षामा सोधिने प्रश्नहरू
फ़ूल किन अमर हुन सक्तैन
ताराहरू किन रातमा मात्र चम्कन्छन्
के ऑसु र रगतका पनि पोखरीहरू हुन्छन् ?
उत्तर लेख्नै पर्छ
लेखौँ मनको अमर कुनामा
मानवता, प्रेम र आस्था अमर छ
फ़ूलहरू नरहे पनि सौन्दर्य अमर छ
ताराहरू प्रेममा सधैँ चम्किरहन्छन्
ऑसु र रगतको पोखरीमा
जीवन परीक्षा दिने वीर योद्धाहरू पौडि खेल्छन्
सधैँ सधैँ मृदुल लयमा जीवन–गीत गाइरहन्छन् ।

२०६४ जेठ, धरान 

https://saranr.blogspot.com/
साभार -लक्ष्मी सडकका कविता ,सोर्हौँ संकलन २०७०


Monday, August 5, 2013

विषय सूची









    
 नयाँ साहित्य











































































































































मानिस''

सरण राईको परिचय

' सरणको साहित्य ' मा भएका कविताहरु  सरण राईले रचना गर्नु भएको हो  |

सरण राईको परिचय  

नाम - सरण राई   (पुरा नाम -सरणकुमार राई )
सेवा निवृत सह प्राध्यापक (त्रि. वि. )
 जन्म स्थान -छिनामखु , भोजपुर 

जन्म मिती - २००४ चैत २४  सोमबार 
शिक्षा  - एम . ए.
ठेगाना - धरान , १९, नेपाल 
प्रकाशित  पुस्तकहरु -
१.  केहि कथा (कथा संग्रह )--२०३९ (हाल  बजारमा उपलब्ध छैन )
२.साथी  (निबन्ध संग्रह )-२०६४ ...मुल्य १०५/-
३.मानव संसार (उपन्यास )-२०६५ ...मुल्य३०० /-
४. अन्तिम स्वीकारोक्ति (कथा संग्रह )- २०६६  साझा प्रकाशनबाट प्रकाशित ...मुल्य १५०/-
५.उडान युवा मनको (उपन्यास )-इन्टरनेटमा मात्र प्रकाशित 

http://saran-rai.blogspot.com/

६.ओइलिने फूल (कविता सङ्ग्रह ) २०७१ ..मुल्य५०/-


सरण राई   (पुरा नाम -सरणकुमार राई ),धरान , १९,
Email--   raisaran50@gmail.com
फोन. न. +९७७ २५ ५२०७४२ 
मोबाइल -+९७७ ९८४२०५५२६२

नयाँ साहित्य

नयाँ साहित्य




सरण राई

जहिले पनि नयाँ, कहिल्यै पुरानो नहुने ‘नयाँ’ हो । हरेक युग नयाँको खोजी र प्राप्तिमा सार्थक भएको छ । नयाँनयाँप्राप्ति उद्देश्य भएको छ । नयाँ ब्रम्हाण्ड, नयाँ विश्व, नयाँ समाज नयाँ साहित्य र नयाँ ज्ञानको खोजीले मानव प्रगति भएको छ ।
नेपालको सन्दर्भमा पनि नयाँको खोजी निरन्तर भइरहेको थियो र भइरहेको छ । ‘नयाँ नेपाल’को सपना कति पटक बाँडियो, पूरा भएन भनि साध्य छैन । तापनि ‘नयाँ नेपाल’को चाहना सकिएको छैन । ‘नयाँ नेपाल’को अनुकूल हुने साहित्य ‘नयाँ साहित्य’ हो ।
अहिलेसम्म नेपालमा लेखिएका ८० % साहित्य पुरानो परम्परा, पुरानो नेपाल एवं पुरानो सामन्ती मान्यता र सोचमा आधारित रहेर लेखिएका छन् । ती साहित्यको पुनर्मूल्याङ्कन हुन थालेको छ । समयले छाडिसकेका पुराना, थोत्राहरू स्वतः मिल्किने तुरिने अवस्थामा छन् । त्यसलाई अनेकौँ नयाँ जामा भिराए पनि नयाँ विकासको बाधक मात्र बन्ने ती थोत्रा, पुरानाहरू मृत अवस्थामा छन् ।अब तिनीहरूको धङधङीमा नेपाली साहित्य जीवन्त हुन नसक्ने भएकाले ‘नयाँ साहित्य’ लेखनको आवश्यकता भएको छ ।
नेपाली साहित्यले विश्वमा आफूलाई चिनाउन र नयाँ सभ्यता, सर्वप्रिय विकास र उन्नत जीवन पद्धत्ति अनुकूल पार्न पनि नयाँ बन्नु पर्ने भएको छ । नयाँ वैज्ञानिक सोच, मान्यता एवं सभ्यता अनुकूल ‘नयाँ साहित्य’ लेखिनु जरुरी भएको छ । जुन नेपाली ‘नयाँ साहित्य’ले समस्त नेपालीहरू जो नेपाली भएर बाँच्न चाहन्छन् सबैलाई समेट्छ । उनीहरूको अनुभूति, वेदना , पीडा, इच्छा र आकाङ्क्षा ‘नयाँ साहित्य’मा व्यक्त हुन्छ र उनीहरूलाई नयाँ नेपालतर्फ साथै नयाँ विश्वतर्फ मार्ग निर्देशन गर्दछ ।
नेपाल पनि विश्वमा पृथक भएर एक्लै बेग्लै बस्न नसक्ने हुँदा विश्व सभ्यता र विकासमा नेपालले पनि सहभागिता र साझेदारी राख्छ । त्यस्तै प्रकारले नेपाली ‘नयाँ साहित्य’ले विश्व साहित्यकै अभिन्न अङ्गको रूपमा विश्व शान्ति, आधुनिक मानवियता, सभ्यता, संस्कार र विकासमा सहभागिता राख्दै महत्वपूर्ण योगदान गरेर आफ्नो भूमिका निर्वाह गर्दछ ।
अनुभूतिको जुनसुकै क्षेत्रमा नयाँ अनुभूत गराउने साहित्य ‘नयाँ साहित्य’ हो । नयाँ साहित्य नयाँ नेपालको साझा र सर्वप्रिय साहित्य भएकोले यो सबैलाई उत्तिकै प्रिय हुन्छ । यो नेपाली ‘नयाँ साहित्य’ विश्वमा नेपालको नयाँ परिचय–चिनारी हुनेछ ।
(२०७० वैशाख १२, धरान )
  • Shailendra Thapa सबैको सोच यसतर्फ अभिप्रेरित होस
    Narahari Sampang Rai एउटा महान साहित्य र बिचार

Thursday, April 25, 2013

मानिसै हो



मानिसै हो

                       

मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले  समस्त विश्व बाँधी  जता चाह्यो  त्यतै त्यतै  अगाडि  पछाडि हाँक्न  सक्छ । 

त्यो मानिस होइन  कि क्या हो  सानै बाधा व्यवधान   सानै समस्याहरूदेखि  तर्सिन थाल्यो
समाधानको बाटो खोजी उन्नति उकालो चढ्नु सट्टा घाँटीमा पासो बाँधी आत्महत्या गर्ने कुरा  पो सोच्न थाल्यो ।

मानिसले त अनेकौँ युक्ति निकाली मुक्तिका लागि वीरतासाथ निरन्तर अविचल सङ्घर्ष गरिरहन्छ
थाक्तैन कहिल्यै सङ्घर्षको आँधी बेहेरी हुण्डरी ल्याई कठिनाइ मुस्किल धुलोका कणझैँ फुरुरु... फुरुरु .उडाइदिन्छ ।

मानिसै हो थाक्तैन कहिल्यै हार्न जान्दैन  विजयश्रीको माला पहिरिन निरन्तर अविरल अगाडि बढिरहन्छ
हतास निराश निरीह नभई साहस उत्साह सक्रियताले सब सांसारिक सौन्दर्य स्वाद सन्तुष्टि रसपान गरिरहन्छ ।

मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले   समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै    अगाडि पछाडि   हाँक्न सक्छ । 



साभार 'मानव संसार' (उपन्यास)  (२०६५)