Popular Posts

Wednesday, June 21, 2017

(कविता ) डाँडाको घाम

(कविता )
डाँडाको घाम

(७० काटेकाहरुको कविता)


सरण राई

कोहि सधैं यहाँ बसिरहेको थाहा छैन
गइसकेपछी गएको फर्केको थाहा छैन
जानेहरुले छाडेको सम्ब्रृध्दी ढकमक्क छ
त्यसमा सुनौलो सुगन्ध थप्ने तिम्रो दायित्व छ !

डाँडाको घाम तिमी अझै उज्यालो छर
७० काटेको जीवन तिम्रो कहाँ छ र
सृष्टिका अनेक अनेक रङ क्यानभासमा छर
रुँदै हैन हँसाउदै हाँस्दै बिदा लिने तिमी छौ वीर !

🐾🌷 👣🌻

https;//saranr.blogspot.com/
२०७४ असार ७ , धरान

Wednesday, July 20, 2016

उल्टो हावा चल्दै छ

(कविता)
उल्टो हावा चल्दै छ

सरण राई

उल्टो हावा चल्दै छ
उल्टो हावा सँँगसँगै उल्टो बुध्दी फुल्दै छ

उल्टो बाटो हिँडेर सुल्टो गन्तव्य पुग्ने
ओरालो झरेर टाकुरा पुग्ने सपना बाँडिदै छ
दु;खि गरिबहरु सुतेका सिंह हुन्
जेजस्तो अवस्थामा छन् नब्युझाईकन
जसरी सकिन्छ धेरै धेरै कुम्ल्याउने धन्धा चल्दै छ
पालै पालो देश खाने सम्झौता हुँदै छ
बुध्दिको बीउ मासी जनता अन्धा बनाउने
उल्टो बुध्दी फुल्दै छ
उल्टो बुध्दी सँँगसँगै उल्टो हावा चल्दै छ !

२०७३ असार ५ , धरान

Monday, May 30, 2016

दायित्व

दायित्व

सरण राई

जन्मेपछि बाँच्नु नै छ डराएर लजाएर शिर झुकाई बाँच्नु किन
छाती फुकाई ठाडो शिर गर्वसित बाँच्नेले नै विश्व हाक्छ रातदिन

साथ दिन्छ समयले साहसिलो भई समस्यासँग जो सधैं जुधिरहन्छ
सफलता सम्मान प्राप्तिको अमूल्य ताज झलमल्ल उसैले नै पहिरिन्छ

काँडाले जति धेरै धेरैधेरै घोचे पनि वीर कहिल्यै पछि हट्दैन
अगाडि बढिरहने ऊ मारे पनि मरे पनि विचलित हुँदै हुँदैन

साहसीको छातीमा प्रेम हुन्छ प्रेमको उज्यालो झलमल्ल चारैतिर छर्छ
प्रेमको प्रकाशमा मधुर जीवन मानवताको रमणिय जगत सुन्दर बनाउछ

रमाइलो संसार उपहार हो ती त्यस्ता साहसी बुद्धिमान वीर पुर्खाहरूको
छाड्नु छ अझ सुन्दर सुन्दर धरती पारी यहि यो पिँढीको दायित्व हो ।

२०६५।२। २८, धरान

Monday, April 25, 2016

मुक्तक

मुक्तक

सरण राई

युग चेतना सभ्यता समस्या सपना एउटै
साझा मात लात चोट वेदना एउटै
एक छाक पाए एक दिन बाँच्ने मजस्तै पिरोलिएको तिमी
माया गर्नुपर्ने, सक्दिनँ, इष्र्या गर्छु समकालीन भएकैले तिमी !

भाग भोग शोक रोग शिक्षा साधना एउटै
साझा औषधी विष उपचार यातना एउटै
पाए उपचार केही दिन बाँच्ने मजस्तै सर्वसाधारण तिमी
मिल्नुपर्ने, सकिदैन, जुध्दै मर्छौ ‘अन्धा जनता’ भएकैले हामी !

ढाँट झुठ फरेव धोका जालझेल जेलनेल एउटै
साझा राजनीति विचार शिद्धान्त नीति एउटै
असल भए राजनीति रमेर बाँच्न सक्ने हामी
फोहोर राजनीतिकै जालमा परी छट्पटिएर रुँँदै मर्ने  नियती !

२०७३ बैसाक १४, धरान
लक्ष्मी सडकका कविता , २०७३ 

Wednesday, April 20, 2016

यो मर्ने चोला

यो मर्ने चोला

सरण राई


सबै काम थाती राखेर बिसाइरहेको बेला
केलाउँछु के के गल्ती गरियो यो जीवनमा ?


भोकैले मरिन्छ कि डराउँदै डराउँदै बाँचियो
एक छाक खान पाए एक दिन बाँचिन्छ भनियो
एक, एक दिन तन्काएर, तन्काएर बाँचियो
एक, एक छाकका लागि रातदिन हड्डिछाला घोटियो
सजिलै गुडन नसकेको जिन्दगी बलैले तानियो
सास्ती माथि सास्ती, कहिलेसम्म तान्नु पर्ने हो ?

( जानीजानी  पाप गरिएन अघाको बेला
 भयो  कुनै गल्तीहरु  भोकाएको बेला
माफै दिनुहोला ... सम्झेर यो मर्ने चोला !)

२०७३ बैशाख ८, धरान

Tuesday, January 5, 2016

समावेसी

समावेसी

सरण राई

फूलहरूले काँडालाई बोलाए
‘सँगै बसौँँ’ भन्दै फकाए
‘म काँडा हूँ, फूलहरूसँग बस्न सक्छु र ?’
‘पातहरूसँग बसेका छौँ, काँडा बीना अधुरो भएका छौँ’
फूल, पात र काँडाहरूको सङ्गम
सौन्दय रमणीय रमाइलो रमझम
‘हो, हरियाली संसारभित्र काँडा पनि समावेसी अनुपम ।’


लक्ष्मी  सडकका कविता सत्रौ संकलन (२०७१ )

Wednesday, December 2, 2015

चुरो कुरो क्षणभङ्गुरता रहेछ !

(कविता )
चुरो कुरो क्षणभङ्गुरता रहेछ !

सरण राई

मेरो के छ ? को छ ?
अगाडि हेर्छु.... रित्तो
पछाडि हेर्छु.... खाली रित्तो
आफैँलाई पाउँछु...एक्लो एक्लो

सांसारिक यथार्थका ज्वालाले भष्म नपारेको
हावा–हुरी,बाढी–पहिरो, भुकम्पले ढाल्न नसकेको
एक मुट्ठी प्राण जहिलेसम्म रहन्छ सबथोक मसँग हुन्छ

एक मुट्ठी प्राण जोगाउनै पर्छ भनेर
थोपा थोपाहरू थोपाहरूकै खोला, नदी र समुद्रमा जोगिएको सम्झेर
मान्छे मान्छेहरूसँग मिसिन्छु
मिसिनु कति गाह्रो ? कति साह्रो ?
अगाडिकाले घचेटेर पछाडि पुर्याउछन्
पछाडिकाले ठेलेर फुटपाथ पुर्याउछन्
सर्वसाधारण आममान्छेको लहरमा उभिन्छु सडकमा
जीजिविषाको प्रतिस्पर्धामा पेलिएर ठेलिएर पुग्छु मसानघाट

म के हुँ ? को हुँ ?
मसानघाट ज्ञान दिलाउँछ
चुरो कुरो क्षणभङ्गुरता रहेछ !

२०७२ साउन १५, सुकेधारा