Popular Posts

Tuesday, October 10, 2017

घोडाहरू देश बोक्दैनन्

(कविता)
घोडाहरू देश बोक्दैनन्
सरण राई
मालिक बोक्ने घोडाहरू देश बोक्दैनन्
मालिकको मर्जीमा कुद्ने घोडाहरुमा स्वाविवेक हुँदैन
तसर्थ अरुका घोडाहरुदेखि सावधान
जोरलात्ती हान्दै राष्ट्रघात गर्लान्
जोरलात्ती हान्दै विश्वासघात गर्लान् !
घोडामा चढेर यात्रा गर्ने हो भने देशले आफ्नै घोडा पाल्नु पर्छ
दानापानी देशको खाने अरुका घोडाहरूले देश बोक्दैनन्
अरुका घोडाहरूलाई छाडा पाल्नु हुदैन--यति कुरा  देशले बुझ्नु पर्छ |

🐎🐎🐎
२०७२ असोज ४ , धरान
https://saranr.blogspot.com/

Sunday, October 8, 2017

जीवनको कविता

जीवनको कविता
सरण राई
जब अग्घोर निरास हतोत्साहित हुन्छु
सहाराको धर्सो, एउटा सानु उज्यालो
मन अडेसो लाग्ने कुनै बिसौनी--कहिँ कतै देखिन छोड्छ
तब फूलहरु भए ठाउँ जान्छु

मुस्कुराउँदै गरेको उनीहरुका स्वागतमा
सबै सबै दु:ख,सान्सारिक वेदना दर्द सब बिर्सन्छु
आनन्द मोहकता सौन्दर्यमा रमाएर
आफैलाई आफैलाई पनि बिर्सन्छु
मात्र सम्झिरहन्छु-- जिउँदो छु, जिउदो रहुन्जेल
फूलहरुबाट आनन्द मोहकता सौन्दर्य
पैंचो लिएरै भएपनि हाँस्नुपर्छ , बाँच्नुपर्छ !

🌺🏵️🌹🌼🌻
२०७४ असोज २३ , धरान
https://saranr.blogspot.com/