Popular Posts

Saturday, July 3, 2021

(अकविता) अन्तिम प्रतीक्षा 

 

सरण राई

 

प्रतीक्षामा रहेका परिचितहरूले 

सुन्नासाथ लेखे फेसबुके भित्ताहरूमा 

अन्तिम पटक - हार्दिक भावपूर्ण श्रध्दाञ्जली ! 

 

कति सजिलै लेखे  

आत्मिय असल मित्र थिए

 धुमधाम गुण गाउँदै तस्वीर पाेष्ट गरे

 अन्तिम पटक एक्कासि मरिसकेकाे मान्छे

 महान् भयाे । पत्यारिलाे भयाे । श्रध्दालु भयाे । 

 

ऊ जिउँदाे हुँदा 

उसले भाेगेकाे दु:ख कसैलाई थाहा भएन

 उसकाे साना उन्नतिमा कसैकाे साथ थिएन 

मरिसके पछि सबैकाे प्रिय भएकाे छ

 श्रध्दाञ्जली वर्षाले रुझ्दै छ 

जिउँदा हुँदा नपाएकाे श्रध्दा माया साथ 

जति नै उर्ले पनि मरिसकेपछि के काम ?

 

 उछिन पाछिन दाैड जीवनकाे 

मृत्यु छ प्राणसँग सधैं टाँसिएकाे 

उछिनपाछिनमा उछिन्नेलाई इर्ष्यावश बधाई भनिएन 

जिउँदाे भईन्जेल जिउँदाकाे अस्तित्त्व मानिएन 

जिउँदा हुन्जेल साथ माया भरथेग नदिनेहरू हाे 

मरेपछि दिइने त्यस्ताे श्रध्दाञ्जली मलाई चाहिएन

 सक्छाै भने 

अहिले जिउँदाेलाई सानाे मुस्कान देऊ

 पैचाेमै भए पनि फूलकाे मुस्कुराहट लेऊ 

र, सकिन्जेल उज्यालाेझैँ सबैतिर बाडि देऊ ! 

 

🌹

 २०७८ असार २०