Popular Posts

Thursday, April 25, 2013

मानिसै हो



मानिसै हो

                       

मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले  समस्त विश्व बाँधी  जता चाह्यो  त्यतै त्यतै  अगाडि  पछाडि हाँक्न  सक्छ । 

त्यो मानिस होइन  कि क्या हो  सानै बाधा व्यवधान   सानै समस्याहरूदेखि  तर्सिन थाल्यो
समाधानको बाटो खोजी उन्नति उकालो चढ्नु सट्टा घाँटीमा पासो बाँधी आत्महत्या गर्ने कुरा  पो सोच्न थाल्यो ।

मानिसले त अनेकौँ युक्ति निकाली मुक्तिका लागि वीरतासाथ निरन्तर अविचल सङ्घर्ष गरिरहन्छ
थाक्तैन कहिल्यै सङ्घर्षको आँधी बेहेरी हुण्डरी ल्याई कठिनाइ मुस्किल धुलोका कणझैँ फुरुरु... फुरुरु .उडाइदिन्छ ।

मानिसै हो थाक्तैन कहिल्यै हार्न जान्दैन  विजयश्रीको माला पहिरिन निरन्तर अविरल अगाडि बढिरहन्छ
हतास निराश निरीह नभई साहस उत्साह सक्रियताले सब सांसारिक सौन्दर्य स्वाद सन्तुष्टि रसपान गरिरहन्छ ।

मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले   समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै    अगाडि पछाडि   हाँक्न सक्छ । 



साभार 'मानव संसार' (उपन्यास)  (२०६५)