Popular Posts

Wednesday, June 21, 2017

(कविता ) डाँडाको घाम

(कविता )
डाँडाको घाम

(७० काटेकाहरुको कविता)


सरण राई

कोहि सधैं यहाँ बसिरहेको थाहा छैन
गइसकेपछी गएको फर्केको थाहा छैन
जानेहरुले छाडेको सम्ब्रृध्दी ढकमक्क छ
त्यसमा सुनौलो सुगन्ध थप्ने तिम्रो दायित्व छ !

डाँडाको घाम तिमी अझै उज्यालो छर
७० काटेको जीवन तिम्रो कहाँ छ र
सृष्टिका अनेक अनेक रङ क्यानभासमा छर
रुँदै हैन हँसाउदै हाँस्दै बिदा लिने तिमी छौ वीर !
*****
🌻

https;//saranr.blogspot.com/
२०७४ असार ७ , धरान

Wednesday, July 20, 2016

उल्टो हावा चल्दै छ

(कविता)
उल्टो हावा चल्दै छ

सरण राई

उल्टो हावा चल्दै छ
उल्टो हावा सँँगसँगै उल्टो बुध्दी फुल्दै छ

उल्टो बाटो हिँडेर सुल्टो गन्तव्य पुग्ने
ओरालो झरेर टाकुरा पुग्ने सपना बाँडिदै छ
दु;खि गरिबहरु सुतेका सिंह हुन्
जेजस्तो अवस्थामा छन् नब्युझाईकन
जसरी सकिन्छ धेरै धेरै कुम्ल्याउने धन्धा चल्दै छ
पालै पालो देश खाने सम्झौता हुँदै छ
बुध्दिको बीउ मासी जनता अन्धा बनाउने
उल्टो बुध्दी फुल्दै छ
उल्टो बुध्दी सँँगसँगै उल्टो हावा चल्दै छ !

२०७३ असार ५ , धरान

Monday, May 30, 2016

दायित्व

दायित्व

सरण राई

जन्मेपछि बाँच्नु नै छ डराएर लजाएर शिर झुकाई बाँच्नु किन
छाती फुकाई ठाडो शिर गर्वसित बाँच्नेले नै विश्व हाक्छ रातदिन

साथ दिन्छ समयले साहसिलो भई समस्यासँग जो सधैं जुधिरहन्छ
सफलता सम्मान प्राप्तिको अमूल्य ताज झलमल्ल उसैले नै पहिरिन्छ

काँडाले जति धेरै धेरैधेरै घोचे पनि वीर कहिल्यै पछि हट्दैन
अगाडि बढिरहने ऊ मारे पनि मरे पनि विचलित हुँदै हुँदैन

साहसीको छातीमा प्रेम हुन्छ प्रेमको उज्यालो झलमल्ल चारैतिर छर्छ
प्रेमको प्रकाशमा मधुर जीवन मानवताको रमणिय जगत सुन्दर बनाउछ

रमाइलो संसार उपहार हो ती त्यस्ता साहसी बुद्धिमान वीर पुर्खाहरूको
छाड्नु छ अझ सुन्दर सुन्दर धरती पारी यहि यो पिँढीको दायित्व हो ।

२०६५।२। २८, धरान

Monday, April 25, 2016

मुक्तक

मुक्तक

सरण राई

युग चेतना सभ्यता समस्या सपना एउटै
साझा मात लात चोट वेदना एउटै
एक छाक पाए एक दिन बाँच्ने मजस्तै पिरोलिएको तिमी
माया गर्नुपर्ने, सक्दिनँ, इर्ष्या गर्छु समकालीन भएकैले तिमी !

भाग भोग शोक रोग शिक्षा साधना एउटै
साझा औषधी विष उपचार यातना एउटै
पाए उपचार केही दिन बाँच्ने मजस्तै सर्वसाधारण तिमी
मिल्नुपर्ने, सकिदैन, जुध्दै मर्छौ ‘अन्धा जनता’ भएकैले हामी !

ढाँट झुठ फरेव धोका जालझेल जेलनेल एउटै
साझा राजनीति विचार शिद्धान्त नीति एउटै
असल भए राजनीति रमेर बाँच्न सक्ने हामी
फोहोर राजनीतिकै जालमा परी छट्पटिएर रुँँदै मर्ने  नियती !

https://saranr.blogspot.com/
२०७३ बैसाक १४, धरान
लक्ष्मी सडकका कविता , २०७३ उन्नाइसौं  संकलन 


Wednesday, April 20, 2016

यो मर्ने चोला

यो मर्ने चोला

सरण राई


सबै काम थाती राखेर बिसाइरहेको बेला
केलाउँछु के के गल्ती गरियो यो जीवनमा ?


भोकैले मरिन्छ कि डराउँदै डराउँदै बाँचियो
एक छाक खान पाए एक दिन बाँचिन्छ भनियो
एक, एक दिन तन्काएर, तन्काएर बाँचियो
एक, एक छाकका लागि रातदिन हड्डिछाला घोटियो
सजिलै गुडन नसकेको जिन्दगी बलैले तानियो
सास्ती माथि सास्ती, कहिलेसम्म तान्नु पर्ने हो ?

( जानीजानी  पाप गरिएन अघाको बेला
 भयो  कुनै गल्तीहरु  भोकाएको बेला
माफै दिनुहोला ... सम्झेर यो मर्ने चोला !)

२०७३ बैशाख ८, धरान

Tuesday, January 5, 2016

समावेसी

समावेसी

सरण राई

फूलहरूले काँडालाई बोलाए
‘सँगै बसौँँ’ भन्दै फकाए
‘म काँडा हूँ, फूलहरूसँग बस्न सक्छु र ?’
‘पातहरूसँग बसेका छौँ, काँडा बीना अधुरो भएका छौँ’
फूल, पात र काँडाहरूको सङ्गम
सौन्दय रमणीय रमाइलो रमझम
‘हो, हरियाली संसारभित्र काँडा पनि समावेसी अनुपम ।’


(कविता) समावेसी
👩‍🎓👩‍🎓👩‍🌾👨‍🎓👨‍🎓https://www.facebook.com/sarankumar.rai/videos/1311607672233207/
🌻🌻🌿🌿🌵🌵🌼
लक्ष्मी  सडकका कविता सत्रौ संकलन (२०७१ )

Wednesday, December 2, 2015

चुरो कुरो क्षणभङ्गुरता रहेछ

(कविता )
चुरो कुरो  क्षणभङ्गुरता रहेछ 

सरण राई

मेरो के छ ? को छ ?
अगाडि हेर्छु.... रित्तो
पछाडि हेर्छु.... खाली रित्तो
आफैँलाई पाउँछु...एक्लो एक्लो

सांसारिक यथार्थका ज्वालाले भष्म नपारेको
हावा–हुरी,बाढी–पहिरो, भुकम्पले ढाल्न नसकेको
एक मुट्ठी प्राण जहिलेसम्म रहन्छ सबथोक मसँग हुन्छ

एक मुट्ठी प्राण जोगाउनै पर्छ भनेर
थोपा थोपाहरू थोपाहरूकै खोला, नदी र समुद्रमा जोगिएको सम्झेर
मान्छे मान्छेहरूसँग मिसिन्छु
मिसिनु कति गाह्रो ? कति साह्रो ?
अगाडिकाले घचेटेर पछाडि पुर्याउछन्
पछाडिकाले ठेलेर फुटपाथ पुर्याउछन्
सर्वसाधारण आममान्छेको लहरमा उभिन्छु ...सडकमा
जीजिविषाको प्रतिस्पर्धामा पेलिएर ठेलिएर पुग्छु... मसानघाटमा

म के हुँ ? को हुँ ?
मसानघाट ज्ञान दिलाउँछ
चुरो कुरो... क्षणभङ्गुरता रहेछ !

***
२०७२ साउन १५, सुकेधारा


Sunday, November 3, 2013

जीवन परीक्षा

जीवन परीक्षा

सरण राई

जीवनको
हर पल हर घडी
परीक्षाको घडी

उन्नति, अवनति, आरोह, अवरोह
उकाली, ओराली, उज्यालो, अँध्यारो
प्रेम, घृणा, जीत–हार
सङ्घर्ष–सङ्ग्रामका घडी

कुन, के र को महत्वपूर्ण
टाल्सटायलाई मनमा कुँ देर
जे, जे, जुन फाँटमा छ
योद्धा भइ वीरतापूर्ण लडिरहनु
डार्विन सत्य भए
लड्दै गन्तव्यमा पुग्नु जीवन हो
जीवन परीक्षामा उत्तीर्ण हुनु हो, र
जीवन परीक्षा हो
परीक्षा जीवन हो ।

जीवन परीक्षामा उत्तीर्ण हुनेहरूको भागमा
सुख, मनोरञ्जन, आनन्द, भोग, उन्नति, उचाइ, महानता
उपलब्धी, गौरव मात्र पर्छ भन्नु
अज्ञानताको भ्रम हुन सक्छ
जाँच फेल भएकाहरू पनि बाँचिरहेका छन्
सन्तोषसँग जीवन बगैचामा पुष्प समान हाँसिरहेका छन्
सांसारिक जीवनको सौन्दर्य
सक्रियता,सेवा, संयम र धैर्य
मुटुभित्र दुःख लुकाएर
मुसुमुसु मुस्कुराउने महान्
परीक्षा हो परीक्षा सधैँ जीवन ।

कहाँ छैन परीक्षा
कहाँ लिइदैन परीक्षा
परीक्षा प्रेममा लिइन्छ
घृणा पनि जाँचिन्छ
प्रेमको कति गहिराइसम्म
प्रेमी पुग्न सक्छ प्रेमिका जान्न चाहन्छे
हर पल हर घडीमा
जीवनको हर क्षण, हर दिन–रातमा
परीक्षा भइरहेको हुन्छ

परीक्षा लिनेभन्दा दिनेहरू महान् हुन्
सत्यवादी हरिश्चन्द्रजस्ता सबै कहाँ हुन्छन् र
गणितमा फेल भएका आइन्स्टाइनजस्तै
महान् मुर्ख प्रेमी भ्यान गोगजस्तै
प्रेम परीक्षामा फेल हुन सक्छौँ , र
अथाह घृणा राशी बोकेर युद्ध मैदानमा होमिन्छौँ
प्रेम नभए घृणा पनि हतियार हुन सक्छ
त्यही हतियारले जीवन–युद्ध लड्छौँ
जीत हार बहाना मात्र हो
परीक्षा दिइरहनु बाँच्ने सहारा हो ।

आऊ, जीवन यात्रामा
हातेमालो गरौँ
जहाँसम्म सकिन्छ मिलेर जाऔँ
बाटो आ–आफ़्नो....गन्तव्य जहाँबाट छुटिन्छ
छुट्टिनुभन्दा अगाडि
सँगसँगै बसेर प्रेम परीक्षा दिऊँ
पास फेल जे भए पनि मनको धोको पु¥याऊँ
परीक्षाको घाउ घाउ, प्रेमको घाउ घाउ
बोकेर
एक्लै एक्लै आफ़्नो गन्तव्यतर्फ जाऊँ
एक्लै आएको हामी
एक्लै मृत्युको काखमा जानु छ
हॉसीहाँसी मृत्युवरण गर्न सक्ने
अन्तिम परीक्षामा उत्तीर्ण हुनु छ ।

जीवन परीक्षामा सोधिने प्रश्नहरू
फ़ूल किन अमर हुन सक्तैन
ताराहरू किन रातमा मात्र चम्कन्छन्
के ऑसु र रगतका पनि पोखरीहरू हुन्छन् ?
उत्तर लेख्नै पर्छ
लेखौँ मनको अमर कुनामा
मानवता, प्रेम र आस्था अमर छ
फ़ूलहरू नरहे पनि सौन्दर्य अमर छ
ताराहरू प्रेममा सधैँ चम्किरहन्छन्
ऑसु र रगतको पोखरीमा
जीवन परीक्षा दिने वीर योद्धाहरू पौडि खेल्छन्
सधैँ सधैँ मृदुल लयमा जीवन–गीत गाइरहन्छन् ।

२०६४ जेठ, धरान 

https://saranr.blogspot.com/
साभार -लक्ष्मी सडकका कविता ,सोर्हौँ संकलन २०७०


Monday, August 5, 2013

विषय सूची









    
 नयाँ साहित्य











































































































































मानिस''

सरण राईको परिचय

' सरणको साहित्य ' मा भएका कविताहरु  सरण राईले रचना गर्नु भएको हो  |

सरण राईको परिचय  

नाम - सरण राई   (पुरा नाम -सरणकुमार राई )
सेवा निवृत सह प्राध्यापक (त्रि. वि. )
 जन्म स्थान -छिनामखु , भोजपुर 

जन्म मिती - २००४ चैत २४  सोमबार 
शिक्षा  - एम . ए.
ठेगाना - धरान , १९, नेपाल 
प्रकाशित  पुस्तकहरु -
१.  केहि कथा (कथा संग्रह )--२०३९ (हाल  बजारमा उपलब्ध छैन )
२.साथी  (निबन्ध संग्रह )-२०६४ ...मुल्य १०५/-
३.मानव संसार (उपन्यास )-२०६५ ...मुल्य३०० /-
४. अन्तिम स्वीकारोक्ति (कथा संग्रह )- २०६६  साझा प्रकाशनबाट प्रकाशित ...मुल्य १५०/-
५.उडान युवा मनको (उपन्यास )-इन्टरनेटमा मात्र प्रकाशित 

http://saran-rai.blogspot.com/

६.ओइलिने फूल (कविता सङ्ग्रह ) २०७१ ..मुल्य५०/-


सरण राई   (पुरा नाम -सरणकुमार राई ),धरान , १९,
Email--   raisaran50@gmail.com
फोन. न. +९७७ २५ ५२०७४२ 
मोबाइल -+९७७ ९८४२०५५२६२

नयाँ साहित्य

नयाँ साहित्य




सरण राई

जहिले पनि नयाँ, कहिल्यै पुरानो नहुने ‘नयाँ’ हो । हरेक युग नयाँको खोजी र प्राप्तिमा सार्थक भएको छ । नयाँनयाँप्राप्ति उद्देश्य भएको छ । नयाँ ब्रम्हाण्ड, नयाँ विश्व, नयाँ समाज नयाँ साहित्य र नयाँ ज्ञानको खोजीले मानव प्रगति भएको छ ।
नेपालको सन्दर्भमा पनि नयाँको खोजी निरन्तर भइरहेको थियो र भइरहेको छ । ‘नयाँ नेपाल’को सपना कति पटक बाँडियो, पूरा भएन भनि साध्य छैन । तापनि ‘नयाँ नेपाल’को चाहना सकिएको छैन । ‘नयाँ नेपाल’को अनुकूल हुने साहित्य ‘नयाँ साहित्य’ हो ।
अहिलेसम्म नेपालमा लेखिएका ८० % साहित्य पुरानो परम्परा, पुरानो नेपाल एवं पुरानो सामन्ती मान्यता र सोचमा आधारित रहेर लेखिएका छन् । ती साहित्यको पुनर्मूल्याङ्कन हुन थालेको छ । समयले छाडिसकेका पुराना, थोत्राहरू स्वतः मिल्किने तुरिने अवस्थामा छन् । त्यसलाई अनेकौँ नयाँ जामा भिराए पनि नयाँ विकासको बाधक मात्र बन्ने ती थोत्रा, पुरानाहरू मृत अवस्थामा छन् ।अब तिनीहरूको धङधङीमा नेपाली साहित्य जीवन्त हुन नसक्ने भएकाले ‘नयाँ साहित्य’ लेखनको आवश्यकता भएको छ ।
नेपाली साहित्यले विश्वमा आफूलाई चिनाउन र नयाँ सभ्यता, सर्वप्रिय विकास र उन्नत जीवन पद्धत्ति अनुकूल पार्न पनि नयाँ बन्नु पर्ने भएको छ । नयाँ वैज्ञानिक सोच, मान्यता एवं सभ्यता अनुकूल ‘नयाँ साहित्य’ लेखिनु जरुरी भएको छ । जुन नेपाली ‘नयाँ साहित्य’ले समस्त नेपालीहरू जो नेपाली भएर बाँच्न चाहन्छन् सबैलाई समेट्छ । उनीहरूको अनुभूति, वेदना , पीडा, इच्छा र आकाङ्क्षा ‘नयाँ साहित्य’मा व्यक्त हुन्छ र उनीहरूलाई नयाँ नेपालतर्फ साथै नयाँ विश्वतर्फ मार्ग निर्देशन गर्दछ ।
नेपाल पनि विश्वमा पृथक भएर एक्लै बेग्लै बस्न नसक्ने हुँदा विश्व सभ्यता र विकासमा नेपालले पनि सहभागिता र साझेदारी राख्छ । त्यस्तै प्रकारले नेपाली ‘नयाँ साहित्य’ले विश्व साहित्यकै अभिन्न अङ्गको रूपमा विश्व शान्ति, आधुनिक मानवियता, सभ्यता, संस्कार र विकासमा सहभागिता राख्दै महत्वपूर्ण योगदान गरेर आफ्नो भूमिका निर्वाह गर्दछ ।
अनुभूतिको जुनसुकै क्षेत्रमा नयाँ अनुभूत गराउने साहित्य ‘नयाँ साहित्य’ हो । नयाँ साहित्य नयाँ नेपालको साझा र सर्वप्रिय साहित्य भएकोले यो सबैलाई उत्तिकै प्रिय हुन्छ । यो नेपाली ‘नयाँ साहित्य’ विश्वमा नेपालको नयाँ परिचय–चिनारी हुनेछ ।
(२०७० वैशाख १२, धरान )
  • Shailendra Thapa सबैको सोच यसतर्फ अभिप्रेरित होस
    Narahari Sampang Rai एउटा महान साहित्य र बिचार

Thursday, April 25, 2013

मानिसै हो



मानिसै हो

                       

मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले  समस्त विश्व बाँधी  जता चाह्यो  त्यतै त्यतै  अगाडि  पछाडि हाँक्न  सक्छ । 

त्यो मानिस होइन  कि क्या हो  सानै बाधा व्यवधान   सानै समस्याहरूदेखि  तर्सिन थाल्यो
समाधानको बाटो खोजी उन्नति उकालो चढ्नु सट्टा घाँटीमा पासो बाँधी आत्महत्या गर्ने कुरा  पो सोच्न थाल्यो ।

मानिसले त अनेकौँ युक्ति निकाली मुक्तिका लागि वीरतासाथ निरन्तर अविचल सङ्घर्ष गरिरहन्छ
थाक्तैन कहिल्यै सङ्घर्षको आँधी बेहेरी हुण्डरी ल्याई कठिनाइ मुस्किल धुलोका कणझैँ फुरुरु... फुरुरु .उडाइदिन्छ ।

मानिसै हो थाक्तैन कहिल्यै हार्न जान्दैन  विजयश्रीको माला पहिरिन निरन्तर अविरल अगाडि बढिरहन्छ
हतास निराश निरीह नभई साहस उत्साह सक्रियताले सब सांसारिक सौन्दर्य स्वाद सन्तुष्टि रसपान गरिरहन्छ ।

मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले   समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै    अगाडि पछाडि   हाँक्न सक्छ । 



साभार 'मानव संसार' (उपन्यास)  (२०६५)

Tuesday, November 13, 2012

कति विवश... विवश जीवन !



जीवन.....कति विवश !
दुख्छ–सहन्छ
रुन्छ, चित्कार–क्रन्दन गर्छ, तर
दुखाइ थिचाइ पिसाइदेखि
फुत्केर भाग्न सक्तैन

चेपिएर चेप्टिएर थिचिइएर पिसिएर चोइटिएर
विकल व्याकुल व्यथित थकितथकित
उन्मुक्तिका लागि चित्कार गर्छ, सुस्केरा छाड्छ
तर फेरि.... उम्केर भाग्न सक्तैन, अनि
दुख्छ सहन्छ छटपटिन्छ
निर्मोही निर्दयी अपार असार संसारभित्र
कति विवश...विवश छ जीवन !

लाग्छ यस्तैजस्तै जीवन दोहो¥याएर भोग्न पाए
तर, हाय ! पुनः प्राप्त नहुने ‘एकबारको जूनी’
च्च..च्च...दुर्लभ अनमोल मायालु क्षणभङ्गुर जीवन !
कति विवश....विवश ,विवश छ जीवन !?

साभार
लक्ष्मी सडकका कविता पन्ध्रौ सङ्कलन—२०६९

Thursday, July 5, 2012

राजनीति



संबेदनशील रोबोट हामी
स्वचालित भएको भ्रम पाल्छौ
उफ्रन्छौ , नाच्छौ र अनेक स्वर कराईरहेका हुन्छौ
रिमोट कन्ट्रोलबाट सन्चालित हामी
स्वातन्त्र, सक्रिय र सिर्जनशील भएको भ्रम पाल्छौ
रिमोट कस्को हातमा छ ?
कसरी  परिचालित भैरहेका छौ ?
थाहा नभएर --राजनीति गरिरहेको भ्रम पाल्छौ |

भ्रमको खेति गर्न सक्नु
टाउका टाउकामा टेकेर भर्याङ्ग  उक्लन सक्नु
आदर्श र सिध्दान्तको मकुण्ड़ो  भिरेर
अवसरवादको भकुण्डो खेल्न सक्नु
सब्जबाग देखाएर धेरैलाई बेवकुफ बनाउन सक्नु
हिप्नोटिज्म + निर्लज्जता
हिप्नोटिज्म + निर्लज्जता + रिमोट कन्ट्रोल
फोहोरी राजनीति हो _ राजनीति |
हिमाल झैँ स्वच्छ, कञ्चन र अडिग
निष्कपट , स्वार्थरहित , तरल तर सबल
जनासमर्पित-समर्थित जहाँ छल हुँदैन
जनता, राष्ट्र र विकासको निम्ति
स्पष्ट ,सुन्दर र साँचो
प्रिय राजनीति हो _ राजनीति |


समष्टि  २०५८ चैत्र -वैशाख २०५९

Monday, February 13, 2012

HAPPY VALENTINE DAY !
प्रेम दिवसको उपलक्षमा मायालु गीत
(वेभमा मात्र प्रकाशित उपन्यास 'उडान युवा मनको' --    http://saran-rai.blogspot.com/   बाट )

गीत

माया नमार माया नमार, मायाको डोरीले चल्छ जीवन
माया माया मायालु माया पाउन, सधैं सधैं पर्खुलाँ  जुनीभरि म

माया माया पिरती जगमग उज्यालो
मायाले हुन्छ जीवन रसिलो
मान्छेको चोला यो फूलको थुङ्गा हो
डालीमा फुलेर अर्पण हुने हो

माया नमार माया नमार, मायाको स्वत्वले चल्छ जीवन
माया माया मायालु माया पाउन, दुःख कष्ट सहुलाँ  जुनीभरि म

मायालु संसार यो राम्रो पारौँ  है
सुन्दर मीठो सपना साकार पारौँ  है
मायाले हुन्छ धरती उज्यालो
बाचौँ  र बचाऔँ  माया रमाइलो ।

माया नमार माया नमार, मायाको डोरीले चल्छ जीवन
माया मायालु माया पाउन, सधैं सधैं पर्खुलाँ  जुनीभरि म |

2012 feb. 14

Wednesday, November 2, 2011




सरण राईका पुस्तकहरु १, अन्तिम स्वीकाराेक्ति  (कथा सङ्ग्रह) , २. मानव संसार (उपन्यास ) , ३. साथी (निबन्ध सङ्ग्रह) ४.अन्तिम अायाम (कथा सङ्ग्रह) ,
  पाइने स्थानहरु :- १. साझा पुस्तक पसलहरु
२. लेखक स्वयंसँग धरान नीजि घर ।एकता अटाे ग्यारेज , धनकुटे राेड माे. ९८४२०५५२६२


Friday, October 28, 2011

मुस्कुराउँन सकूँ अन्तिम क्षणमा

मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर
फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई
श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झेर
बॉचिरहेको म अहिले मुस्कुराउँछु— मलाई
मृत्यु पछाडि चढाइने श्रध्दाञ्जलिको के अर्थ हुन्छ र ? मलाई
सम्झन्छु— अहिले म बॉचिरहेको बेला मुस्कुराउँनु चाहीँ  महान् कुरो हो
कल्पिन्छु— अहिले म बॉचिरहेको बेला हृदय कञ्चन रहनु चाहीँ   महान् कुरो हो ।

महान् कुरो नै के  हो र ? महान् कुरा नै मैले के गरेँ  र ?
सोधिरहेछु आफैलाई, सम्झना गरिरहेछु आफैलाई
मथिदेखि तलसम्म,  तलदेखि माथिसम्म
जन्मदेखि मृत्युसम्म (भलै अहिले म मरिसकेको छुइनॅ )
छिनामखुदेखि धरानसम्म,  याङ्गटाङ्गदेखि कोशी माइसम्म
म कुनै पौडिने पौडिबाज होइन
म कुनै उड्ने कलाबाज होइन
तापनि एउटा जीवन पार गरिसकेको छु
एउटा अविरल शुक्ष्म कालखण्ड मानिसको— गुजारिसकेको छु
पुगेको छु— सबैले पुग्नैपर्ने एउटा अन्तिम किनारा
अन्तिम बिसौनी ! जसदेखि पर अर्को बिसौनी हुँदैन
जसदेखि पर अर्को यात्रा हुँदैन....सायद !?

सम्झनामा सजाइएका घुर्मैला धुनहरू
आज आफै  बज्न दिऊँ , आफै  फुक्न दिऊँ 
मेरो बाजे करुवा कॉटी ठोकिएको स्थानीय कडा जुत्ता लगाएर
ठक्...ठक्...ठक्...हिड्नु हुन्थ्यो
बिहान बिहानै चाहार्नुहुन्थ्यो गाउँ ,  पुग्नु हुन्थ्यो घरघर
एकानब्बे वर्ष बॉचेर परलोक हुनु भयो
तराइ नझर्नु भएको भए एक सय वर्ष बॉच्नु हुन्थ्यो कि !
मेरो बुबा छहत्तर वर्षमा परलोक हुनुभयो
आधुनिक सभ्यता वाहन चढन नचाहनु भएको भए
एकानब्बे वर्ष बॉच्नु हुन्थ्यो कि !
म कति बॉच्छु ? थाहा होला छिनामखु, थाङ्गटाङ्ग र धरानलाई
थाहा होला मिसावटयुक्त अर्धविषाक्त यो आधुनिक जमानालाई !?

बॉच्नु, कति बॉच्नु ? प्रमुख कुरा होइन रहेछ
अन्तिम क्षणसम्म सन्तोषसँग मुस्कुराउँ न सक्नु महान कुरा रहेछ
सोच्नोस त मैले के गरेँ  ? के गरीनॅ  ?
मैले यो मानव सभ्यताको मरुभूमिमा एउटा कण थपिनॅ  ?
सोच्नोस त यो अन्तराल समयमा एउटा क्षण थपिनॅ  ?
हुन त म नै के हुँ  र ? मनै त हो नि.....
समयको अन्तराल अवधिमा बितेर जाने एउटा निमेष क्षण
बिशाल जङ्गलमा झरेर जाने एउटा पुरानो पात
तापनि याङ्गटाङ्गहरूकै थोपाहरूले बनेको हुन्छ समुद्र
निमेषहरूकै जोडले बनेको हुन्छ अनन्त अन्तराल समय
पातहरूकै रङ्गले जेलिएको हुन्छ जङ्गलको हरियाली !

त्यसैले फेरि एक पटक— पहिलो र अन्तिम पटक
खेलाएर–केलाएर हेरौँ   यो बृक्षजस्तो जिन्दगीलाई
यति थाकेको, पाकेको, बहकिएको यो मन, जीवनलाई
मर्न त पर्छ नै सबैले , तर
मर्नेबेला पश्चात्तापको ऑसु नहोस् ऑखामा
ऑसु आयो नै भने पखालिदेऊ थाङ्गटाङ्ग तिम्रो पानीमा
किनकि तिमी सधैं रहनेछौ र गुनगुनाइरहने छौ
सत्य, विवेक, स्वाभिमान, माया, जिन्दगी र धरतीका गीतहरूमा
बिर्साइदेऊ, विलिन गराइदेऊ मलाई ती तिम्रा गीतका धुनहरूमा
जीवनको अन्तिम बेलामा मुस्कुराउँन नसकेर— सम्झेर जीवन ऑखामा
ऑसु नै आयोभने पनि पखालिदेऊ याङ्गटाङ्ग तिम्रो पानीमा  ! तिम्रो कञ्चन पानीमा !

शब्दार्थ — छिनामखु = भोजपुर जिल्लाको एउटा गाउँ  | याङ्टाड् = दिल्पा र छिनामखु गाउँहरुको बिचको खोला | याड् = रुपिया , टाङ् =बोट
साभार
लक्ष्मीसडकका कविता (चौधौं सङ्कलन–२०६८)




सरण राईका पुस्तकहरु १, अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह) , २. मानव संसार (उपन्यास ) , ३. साथी (निबन्ध सङ्ग्रह)
  पाइने स्थानहरु :- १. साझा पुस्तक पसलहरु
२. कन्काई बुक , साझा भवन ,भोटाहिटी

Wednesday, October 19, 2011

ओंइलिने फूल



चलिरहेकै थियो  जिन्दगी
गुडिरहेकै, उडिरहेकै थियो  जिन्दगी
कहाँ , कसरी कहिले पन्चर भयो
कसरी  उडने मनको  पखेटा काटियो
गुड्रन छाडेको  छ
फुल्न छाडेको  छ
परिवर्तनशील उकाली, ओंराली र भिराली
पछारिएर फेरि जुर्मुराएर उठ्ने, गुड्ने, उड्ने
निरन्तर यात्रामा फुलिरहने
अजम्बरी होइन— ओंइलिने फूल नै जीवन थियो ।

मधुपर्क २०६८ कातिक