Popular Posts

Tuesday, October 10, 2017

घोडाहरू देश बोक्दैनन्

(कविता)
घोडाहरू देश बोक्दैनन्
सरण राई
मालिक बोक्ने घोडाहरू देश बोक्दैनन्
मालिकको मर्जीमा कुद्ने घोडाहरुमा स्वाविवेक हुँदैन
तसर्थ अरुका घोडाहरुदेखि सावधान
जोरलात्ती हान्दै राष्ट्रघात गर्लान्
जोरलात्ती हान्दै विश्वासघात गर्लान् !
घोडामा चढेर यात्रा गर्ने हो भने देशले आफ्नै घोडा पाल्नु पर्छ
दानापानी देशको खाने अरुका घोडाहरूले देश बोक्दैनन्
अरुका घोडाहरूलाई छाडा पाल्नु हुदैन--यति कुरा  देशले बुझ्नु पर्छ |

🐎🐎🐎
२०७२ असोज ४ , धरान
https://saranr.blogspot.com/

Sunday, October 8, 2017

जीवनको कविता

जीवनको कविता
सरण राई
जब अग्घोर निरास हतोत्साहित हुन्छु
सहाराको धर्सो, एउटा सानु उज्यालो
मन अडेसो लाग्ने कुनै बिसौनी--कहिँ कतै देखिन छोड्छ
तब फूलहरु भए ठाउँ जान्छु

मुस्कुराउँदै गरेको उनीहरुका स्वागतमा
सबै सबै दु:ख,सान्सारिक वेदना दर्द सब बिर्सन्छु
आनन्द मोहकता सौन्दर्यमा रमाएर
आफैलाई आफैलाई पनि बिर्सन्छु
मात्र सम्झिरहन्छु-- जिउँदो छु, जिउदो रहुन्जेल
फूलहरुबाट आनन्द मोहकता सौन्दर्य
पैंचो लिएरै भएपनि हाँस्नुपर्छ , बाँच्नुपर्छ !

🌺🏵️🌹🌼🌻
२०७४ असोज २३ , धरान
https://saranr.blogspot.com/



Saturday, September 30, 2017

यात्रा

(कविता )
 यात्रा
सरण राई

गाउँदै जीवनको बेसुरा गीत
हिँड्दै छु
जीवन यात्रा हो रे
गाउँदै रमाउदै  हिँडिरहनु पर्छ रे  !

यात्रा जति छोटो-
त्यति रमाइलो
शेष यात्रा - एकै क्षणको
र त,  गाउँदै  रमाउँदै हिँडिरहेको  !
 ***

२०७४ असोज १४ , दसैँ , धरान
https://saranr.blogspot.com/2017/09/blog-post_30.html'

Thursday, September 21, 2017

सक्छौ ?!

( कविता )
सक्छौ ?!

सरण राई

मरिसकेपछि
जति पटक मार्न सक्छौ, मार ! मार !!

सक्छौ भने... बाँचेको बेला
एक दिन, एक घण्टा, एक मिनट वा एक पल बढी बाँच्न
मदत गर ! मदत गर !!... सक्छौ ?!

https://saranr.blogspot.com/
२०७४,अशोज , धरान |

Wednesday, June 21, 2017

(कविता ) डाँडाको घाम

(कविता )
डाँडाको घाम

(७० काटेकाहरुको कविता)


सरण राई

कोहि सधैं यहाँ बसिरहेको थाहा छैन
गइसकेपछी गएको फर्केको थाहा छैन
जानेहरुले छाडेको सम्ब्रृध्दी ढकमक्क छ
त्यसमा सुनौलो सुगन्ध थप्ने तिम्रो दायित्व छ !

डाँडाको घाम तिमी अझै उज्यालो छर
७० काटेको जीवन तिम्रो कहाँ छ र
सृष्टिका अनेक अनेक रङ क्यानभासमा छर
रुँदै हैन हँसाउदै हाँस्दै बिदा लिने तिमी छौ वीर !
*****
🌻

https;//saranr.blogspot.com/
२०७४ असार ७ , धरान

Wednesday, July 20, 2016

उल्टो हावा चल्दै छ

(कविता)
उल्टो हावा चल्दै छ

सरण राई

उल्टो हावा चल्दै छ
उल्टो हावा सँँगसँगै उल्टो बुध्दी फुल्दै छ

उल्टो बाटो हिँडेर सुल्टो गन्तव्य पुग्ने
ओरालो झरेर टाकुरा पुग्ने सपना बाँडिदै छ
दु;खि गरिबहरु सुतेका सिंह हुन्
जेजस्तो अवस्थामा छन् नब्युझाईकन
जसरी सकिन्छ धेरै धेरै कुम्ल्याउने धन्धा चल्दै छ
पालै पालो देश खाने सम्झौता हुँदै छ
बुध्दिको बीउ मासी जनता अन्धा बनाउने
उल्टो बुध्दी फुल्दै छ
उल्टो बुध्दी सँँगसँगै उल्टो हावा चल्दै छ !

२०७३ असार ५ , धरान

Monday, May 30, 2016

दायित्व

दायित्व

सरण राई

जन्मेपछि बाँच्नु नै छ डराएर लजाएर शिर झुकाई बाँच्नु किन
छाती फुकाई ठाडो शिर गर्वसित बाँच्नेले नै विश्व हाक्छ रातदिन

साथ दिन्छ समयले साहसिलो भई समस्यासँग जो सधैं जुधिरहन्छ
सफलता सम्मान प्राप्तिको अमूल्य ताज झलमल्ल उसैले नै पहिरिन्छ

काँडाले जति धेरै धेरैधेरै घोचे पनि वीर कहिल्यै पछि हट्दैन
अगाडि बढिरहने ऊ मारे पनि मरे पनि विचलित हुँदै हुँदैन

साहसीको छातीमा प्रेम हुन्छ प्रेमको उज्यालो झलमल्ल चारैतिर छर्छ
प्रेमको प्रकाशमा मधुर जीवन मानवताको रमणिय जगत सुन्दर बनाउछ

रमाइलो संसार उपहार हो ती त्यस्ता साहसी बुद्धिमान वीर पुर्खाहरूको
छाड्नु छ अझ सुन्दर सुन्दर धरती पारी यहि यो पिँढीको दायित्व हो ।

२०६५।२। २८, धरान