Popular Posts

Monday, November 24, 2025

(आजकाे कविता) सपना-सपनाहरू अनुपम!

 

(आजकाे कविता)
सपना-सपनाहरू अनुपम!
 
सरण राई
 
सबसब... सब छुटे ।
साथ सपनाकाे नछुटे
रिक्ततासँगै बाँच्न सकिदाेरहेछ
कृत्रिम नै भए पनि हाँस्न सकिदाेरहेछ ।
 
सपना नयाँनयाँ ।
गईसकेकी तिनी आईरहे
तिमी सपनामै झुल्किरहे
ओइलाएकाे मन बाैरिदाेरहेछ
सुकिसकेकाे बुढाे तन पनि फुल्दाेरहेछ ।
 
जबसम्म सपना हुन्छ...
म हुन्छु। सपना सपनामै भए पनि
म हुन्छु र मेरा लागि मेर‌ै संसार हुन्छ
मेरै एकलाैटी हकभाेगकाे सपना हुन्छ
रचना सृष्टि माेहकता सपनाकै रमझम रमझम
तिमी/ तिनी सम्झिरहने मन बाँचिरहेकाे हुन्छ
सपना संसार साैन्दर्य प्रेम हुन्छ झलमल-झलमल अनुपम !
...
अनुपम!
साथ सपना
सपना-सपनाहरूअनुपम ।
 






 
२०८२/८/८/२ (सपनामै बाँचिरहेकाे दिन)

Tuesday, November 26, 2024

(उच्छ्वास कविता) जीवन-- समय झाेक्का

 

(उच्छ्वास कविता)
जीवन-- समय झाेक्का
 
सरण राई

 
जीवन-- समय झाेक्का
जन्मन्छ । मर्छ । सकिन्छ ।
बाँचुन्जेल के के गर्छु-- भन्छ
हावा बन्छु । बादलसरी उडिरहन्छु
सिरसिरे बतास । सितलता दिन्छु
दु:ख । आँधिहुरि भ‌ई उडाएर लैजान्छु।
तर । तर... मरिहाल्छन् । मर्छन् ।
बाँचिरहेकाहरू !
थाहै नपाई मरिहाल्छन् । मर्छन् ।
जीवन-- समय झाेक्का !
२०८१/६/६
 
 
 
 

 

Saturday, September 21, 2024

(उच्छ्वास कविता) आज म कस्तो भएछु ?

 

(उच्छ्वास कविता)
आज म कस्तो भएछु ?
 
सरण राई
 
हराएर विशाल संसारमा
आफैलाई खाेज्दै छु
म के हुँ? के भएछु ? कतिसम्म रहन्छु-बस्छु ?
आफ्नाे खटनमा के छ ? थाहा नभएर भ्रमित म?
पत्तै नपाई म काे हुँ ?
सँगसँगैका साथीभाइबहिनीहरूलाई साेध्दै छु
अन्तिममा आफैलाई साेध्दै छु - म कस्ताे /के भएछु ?
 
🌹
२०७८ भदा‌ै ३१
🌹

🌹

Thursday, September 19, 2024

भ्रष्टाचारको हड्डी

 

(उच्छ्वास कविता)
भ्रष्टाचारको हड्डी
 
 
सरण राई
 
भ्रष्टाचारको हड्डी खान
मान्छे कुकुर बन्छ
भ्रष्टाचारको हड्डी पचाउन
सिंहझैँ गर्जिन खाेज्छ
ख्याङख्याङ भुक्छ / कहाँ गर्जिन सक्छ ?
भ्रष्टाचार पचाउन नसक्ता
राल चुहाउँदै "बाैलाहा कुकुर" कुकुर बन्छ ।
 
🌿
२०८१ असाेज ३, धरान
माया ठकुरी टिकाराम रेग्मी रामलाल जाेशी र सर
 
 


🌿

Sunday, July 7, 2024

भाेगाइ

 

भाेगाइ
 
सरण राई
 
अझै मेराे पछाडि ब्लाकबाेर्ड छ
मेराे एउटा हातमा चक
र, अर्काे हातमा डस्टर छ-- लागिरहन्छ 
 
लेख्न खाेज्छु
लेखिदैन, कि लेखेर पनि देखिदैन ।
बाँच्नुकाे आनन्द
खाेजिरहन्छु, कही कतै भेटिदैन ।
यस्तै रहेछ बचाइ
यस्तै रहेछ भाेगाइ !
 
अझ‌ै मेराे पछि जुलुस छ
न्याय,सत्य र देशका लागि
मार्न र मर्न तयार आममान्छेकाे लाम छ-- लागिरहन्छ
 
व्यवस्थाले बनाईसकेछ आममान्छेलाई
बहिरा, लाटा अन्धा पिछलग्गु दास
फेर्न छाडेछन् जिउँदालेझैँ सास
लासबाट केकाे आस ?!
यही हाे त साँचाे भाेगाइ
यस्तै हुन्छ त सार्थक बचाइ ??
🌿
२२अप्रिल २०२१ र ६ जुलाइ २०२२
 

 

Sunday, June 30, 2024

(उच्छ्वास कविता) साेच भए मान्छे बन्छ

 

(उच्छ्वास कविता)
साेच भए मान्छे बन्छ 
 
सरण राई
 
जति भाेगे पनि तृष्णा
तृप्प नभएझैँ
जिउने चाह नमेटिने भई
बाँचिन्छ जति 'आफ्नै एकलाैटि´ हाे नै
कसका लागि मर्ने ? बाँचेकाले साेच्नै पर्ने रै´छ है !
साेच ! असल साेच भए मान्छे हुन्छ ।
पेट भरेर;आहारा जाेहाे गरेर
पशुझैँ हैन मान्छे हुन्छ मान्छेझैँ बाँचेर !
🌿
२०७९ असार १५.धरान
 

 

Wednesday, January 17, 2024

जाेम्वी (Zombie)

(कविता)
जाेम्वी (Zombie)
 
सरण राई
 
मान्छे
कति पटक मर्छ ?
जब इमान डगाउछ- आधि मर्छ
अन्तरमनकाे पुकार सुन्न छाड्छ- तीन चाैथाइ मर्छ
राष्ट्रघात गरेपछि- पूरै मर्छ ।
सतप्रतिशत मरेकाे ऊ जाेम्वी
जिउँदाहरू विरुध्द उपयाेग गरीन्छ
मरिसकेपछि पनि मर्न नपाउने ... जाेम्वी !
मुर्दा भईसकेपछि पनि-
जनघात राष्ट्रघातमा प्रयाेग गरिने ...जाेम्वी !
 
तसर्थ मर्नका लागि भए नि
जे गरे नि... कहिल्यै राष्ट्रघात नगराैँ ,र
मुर्कुट्टा पिसाच जाेम्वी नबनाैँ , लै लै ! 
 
🌹
२०७८ जेठ २४, लकडाउन
परिमार्जन २०८० माघ ४, धरान
  
परिमार्जन २०८० माघ ४, धरान


 

अधुरो कविता

 

अधुरो कविता
 
सरण राई
 
अधुरो म
अधुरो कविता लेख्दै छु
अधुरो जीवनको अधुरो कथा सुनाउँदै
अधुरो सृजना अधुरा छोडेर अधुरो सपना बुन्दै छु
अधुरो गीत गाउँदा गाउँदै मृत्यु अँगालेर
जीवन होइन अधुरो मृत्यु अँगाल्दै छु
मृत्यु अँगाल्दै अधुरो गीत गाउँदै छु
साथी ! अधुरो जीवन अधुरो गीत गाउँदै छु....
गाउँन मैले पुरै गीत पाउनु पर्थ्यो
लाउँन मैले पुरै प्रीत पाउनु पर्थ्यो
पाउनु पर्थ्यो पुरै सपना ; पुरै सपना देख्न पाउनु पर्थ्यो
अधुरो म , अधुरो अधुरो गीत
अधुरो अधुरो प्रीत ; अधुरो अधुरो सपना
अधुरो भोग , अधुरो जीवन; अधुरो अधुरो माया
साथी ! पाउनु पर्थ्यो पुरा पुरा
तर साथी पाएर / गाएर अधुरै अधुरा
छाडेर अधुरै अधुरा
जाँदै जाँदै छु अधुरै माया : अधुरै जीवन
अधुरै माया मारेर ; अधुरै माया मारेर
किनकी, प्रियतम, म, मेरो वशमा, वशमा केही छैन
अधुरै माया मारेर. अधुरै माया छोडेर
जानै पर्ने, अधुरै माया मारेर जाँदै छु
प्रियतम अधुरै माया छाडेर र रुँदै रुँदै जाँदै छु ....
किनकी जीवन यहि नै हो
प्रिय , यहि नै सब जीवनको नियति हो
यहि नै जीवन हो ; यहि नै सब जीवनको नियति हो
र...
र , मुस्कुराएर
बिदा देऊ ,बिदा देऊ मुस्कुराएर, मुस्कुराएर सक्छ्यौ भने, प्रिय ....
 
 
8 Years Ago 2016 Jan 17

Sunday, December 10, 2023

(उच्छ्वास कविता) के हाेला ?

 

(उच्छ्वास कविता)
के हाेला ?
 
सरण राई
 
एक्लाे मान्छे
जता मन लाग्छ,उतै हिँड्छु
गाेडाले साथ दिन छाडेपछि... के हाेला ?
 
धराप जिन्दगी
जति बेला पनि खस्न सक्छ, खसेपछि
दु:खले आर्जेकाे सम्पत्ति .. कस्काे हाेला ?
 
🌱🌹🌱
२०८०/८/२४,धरान


 

Saturday, March 25, 2023

लासमा सास फुक्नु छ

 

( कविता)

लासमा सास फुक्नु छ
 
सरण राई 
 
लेख्न मन छ
केले लेखाैँ ? कलमले कि मनले
डुल्न मन छ
केले हिड्ने ? धनले कि तनले
धन छैन तन कमजाेर
तुल्बुलिरहने मन र डुब्न लागेकाे घाम
छैन काम
कसले दिन्छ माम
अक्करमा मात्र फल्दाे रहेछ दाम
जान ता पर्छ नै तर कसरी जाम
खटनमा हुँदैन छैन बसेकाे ठाम...
अब खटनमा पार्नु छ काम माम दाम र ठाम ।
 
दाससन्तान युगाैदेखि
सहयाेगका लागि हात थापेँ
हात मालिकलाई बुझाईसकेका रहेछाै
साेच्ने दिमाग खाेक्राे बनाईसकेका रहेछाै
हात,साेच र स्वतन्त्र अस्तित्त्व बुझाईसकेका रहेछा‌ै
दाससन्तान ! दाससन्तान तिमी महादास भईसकेछाै
हात नभएकाे
मत नभएकाे
साेच नभएकाे
मालिकले तिम्राे देश बेचेपछि देश नभएकाे
फगत तिमी मालिककाे राेबाेट दास हतियार
दास ! मरिसकेकाे लास ! दासलासबाट केकाे आश ...
 
दासैदासकाे सहरमा पनि
लासैलासकाे देशमा पनि
लासहरूमा जिउँदाे सास फुकेर
दासहरूमा साेच र स्वत्व भरेर
लासलाई जिउँदाे बनाएर
दासलाई मालिक बनाएर
नयाँ साेच नयाँ विचार राेपेर
नयाँ बाटाे हिँडेर हिँडाएर
दासहरूआफै मालिक भएकाे देश फुलाउनु छ
सुन्दर भाव, सुन्दर विचार र सु्न्दर जीवन-संसार बनाउनु छ !
 
🌿
२०७८/१२/११
🌹

🌹

Tuesday, October 18, 2022

सर्वसाधारण आममान्छे र नेता

 

सर्वसाधारण आममान्छे र नेता 
 
सरण राई 
 
थोत्रो लुगा फाटेको जुत्ता लगाएको
दुब्लो मरन्च्यासे भावुक अनुहार भएको
शिर ठाडो पारेर केहि गम्दै गन्दै
केहि खोजिरहेजस्तो
भेट्ला भेट्ला जस्तो गरी केहि ताकिरहेको
टिठलाग्दो मानिस सडकमा पैदल हिडिरहेको
भेट्यो भने सम्झे हुन्छ
लोभ र पापले नछोएको
ऊ सर्वसाधारण आमसाहित्यकार हो |
 
राजसी ठाटबाटसित
मान्छेलाई हप्काउदै दप्काउदै हियाउदै
उसको गाडीले भरसक मान्छे किच्चाउँन खोज्दै
पुष्ट भरिलो तर घिनलाग्दो अनुहार भएको मान्छे
भेट्यो भने सम्झे हुन्छ त्यो नेता हो |
 
दुर्घटना भयो
कारमुनि किचिएर मानिस मरेको देख्यो भने
सम्झे हुन्छ त्यो मर्ने मानिस सर्वसाधारण आममान्छे हो
किच्चाएर मार्ने अरु कोहि नभएर उनीहरुले विश्वास गरेको नेता हो !
 
२०७१ कार्तिक १, धरान 
 

 

Sunday, October 16, 2022

दु(इ कविता) १. अहिले २.जित

 

(कविता)
सरण राई
 
१. अहिले
 
गराैला भाेलि
हाेइन आजै गर
भाेलि भरैकाे के भर
अहिले छ र
अहिलेकै भर पर ।
 
२. जित
हृदयमा बाँस पाउनु जित ।
मायालु बाजि जित्नु जित ।
अहिले केही गरिरहनु जित ।
अन्याय नगर्नु जित ।
सत्य न्यायका पक्षमा रहनु जित ।
जीवनकै पक्षमा लडिरहनु जित।
उज्यालाेका लागि लडे सधैं जितै -जित !
 
 
 
 
 
 

🌹

Tuesday, October 11, 2022

(अाजकाे कविता) उज्यालाे देश

 

(अाजकाे कविता)
उज्यालाे देश
 
सरण राई
 
एउट‌ै पनि दराे उभिन सकेन
भेल- फाेहाेर भ्रष्टाचार सिध्दान्तहीन भेलमा
पुल एउटै पनि बन्न सकेन
पारी पुग्ने संकटका पलमा
फाेहाेर अनैतिकताकाे दलदलमा भाँसिएर
सबै मर्छन् त ? सकिन्छन् त ?
हाेइन !
जन्मदै छन् वीरहरू
अँध्याराे अन्त गरी उज्यालाे उमार्नेहरू
पुलपारी उज्यालाे देश पुग्न
अाउँदै छन् सुनाैला क्षणहरू ! ! क्षणहरू !! !
🏵️
२०७७असाेज २५
🌻

🌻

यथार्थबाेध

 

यथार्थबाेध
 
दु:ख दिने र पाउनेकाे
थिच्ने र थिचिएकाकाे कलह
खरानीभित्रकाे अागाे हाे
दु:ख दिनेलाई
डडाएरै खरानी पार्छ ।

Monday, September 26, 2022

?!?

 

?!?
 
सरण राई
 
जाेडि चराहरू
एउटा खुत्रुक्कै
बिजाेडि चहचहाउन छाडेकाे छ
एउटाबाट अर्काे डालिमा सँगसँगै उफ्रेकाे
डालिहरू चहार्न छाडेकाे छ
सँगसँगै उडेकाे अाकाश
पखेटा काटिएर उड्न छाडेकाे छ
नाैरङ्गी रङमा डुबेर
जिजीविषाकाे अदृश्य तलाउमा डुब्न नसकि तैरिदै छ ।
अझै अाउँछ कि वसन्त भन्दै पर्खदै छ
अाउँछ त? अाउँछ अाउँदैन साेध्नै बेकार छ !
२०७६/६/६,विशालचाैक
 

 

गुजार्छु एउटा जीवन

 

गुजार्छु एउटा जीवन
 
सरण राई
 
म— के के हुँ ?
फलाम हुँ भने खिया लाग्छु, लाग्छु
काठ हुँ भने सडिन्छु, मक्किन्छु र तुरिन्छु
निर्जीव हुँ भने मलाई केही भन्नु छैन
जीवित हुँ भने मृत्युले म बेरिन्छु, बेरिन्छु
बिस्मात मान्ने किन ?
म अनुभूतिहीन भएभने त केही छैन
सम्वेदनशील छुभने त
आफ़्ना, अरुका र जीवितहरूका सुख दुःखमा हाँस्छु, रुन्छु
हाँस्दै रुदैँ उकाली ओराली
आरोह अवरोह जीवनका
जसरी भए पनि गुजार्छु, गुजार्छु
अनि, गुज्रिन्छु ...उसपार... पारि
पारि..पारि अनन्तमा !
पारि अनन्त अनन्तमा...
हुन सक्छ जहाँ सबै छन्
हुन सक्छ जहाँ सबै छैनन् !
 
२०६६।१।१७.