Popular Posts

Saturday, July 3, 2021

(अकविता) अन्तिम प्रतीक्षा 

 

सरण राई

 

प्रतीक्षामा रहेका परिचितहरूले 

सुन्नासाथ लेखे फेसबुके भित्ताहरूमा 

अन्तिम पटक - हार्दिक भावपूर्ण श्रध्दाञ्जली ! 

 

कति सजिलै लेखे  

आत्मिय असल मित्र थिए

 धुमधाम गुण गाउँदै तस्वीर पाेष्ट गरे

 अन्तिम पटक एक्कासि मरिसकेकाे मान्छे

 महान् भयाे । पत्यारिलाे भयाे । श्रध्दालु भयाे । 

 

ऊ जिउँदाे हुँदा 

उसले भाेगेकाे दु:ख कसैलाई थाहा भएन

 उसकाे साना उन्नतिमा कसैकाे साथ थिएन 

मरिसके पछि सबैकाे प्रिय भएकाे छ

 श्रध्दाञ्जली वर्षाले रुझ्दै छ 

जिउँदा हुँदा नपाएकाे श्रध्दा माया साथ 

जति नै उर्ले पनि मरिसकेपछि के काम ?

 

 उछिन पाछिन दाैड जीवनकाे 

मृत्यु छ प्राणसँग सधैं टाँसिएकाे 

उछिनपाछिनमा उछिन्नेलाई इर्ष्यावश बधाई भनिएन 

जिउँदाे भईन्जेल जिउँदाकाे अस्तित्त्व मानिएन 

जिउँदा हुन्जेल साथ माया भरथेग नदिनेहरू हाे 

मरेपछि दिइने त्यस्ताे श्रध्दाञ्जली मलाई चाहिएन

 सक्छाै भने 

अहिले जिउँदाेलाई सानाे मुस्कान देऊ

 पैचाेमै भए पनि फूलकाे मुस्कुराहट लेऊ 

र, सकिन्जेल उज्यालाेझैँ सबैतिर बाडि देऊ ! 

 

🌹

 २०७८ असार २०

 


 

Wednesday, June 9, 2021

कविता) सरण राई

कविता) 

सरण राई 

 

१. 

अहिले गराैला 

भाेलि हाेइन आजै गर 

भाेलि भरैकाे के भर 

अहिले छ र अहिलेकै भर पर ।

 

 २. 

जित

 हृदयमा बाँस पाउनु जित । 

मायालु बाजि जित्नु जित ।

 अहिले केही गरिरहनु जित । 

अन्याय नगर्नु जित । 

सत्य न्यायका पक्षमा रहनु जित ।

 जीवनकै पक्षमा लडिरहनु जित। 

उज्यालाेका लागि लडे सधैं जितै -जित ! 

🌹

जाेम्वी (Zombie)

(कविता) जाेम्वी (Zombie) सरण राई मान्छे कति पटक मर्छ ? जब इमान डगाउछ आधि मर्छ अन्तरमनकाे पुकार सुन्न छाड्छ तीन चाैथाइ मर्छ राष्ट्रघात गरेपछि पूरै मर्छ सतप्रतिशत मरेकाे ऊ जाेम्वी जिउँदाहरू विरुध्द उपयाेग गरीन्छ मरिसकेपछि पनि मर्न नपाउने ... जाेम्वी ! मुर्दा भईसकेपछि पनि जनघात राष्ट्रघातमा प्रयाेग गरिने ...जाेम्वी ! जे गरे नि कहिल्यै राष्ट्रघात नगराैँ ,र मुर्कुट्टा पिसाच जाेम्वी नबनाैँ , लै लै ! 🌹 २०७८ जेठ २४, लकडाउन

Sunday, April 11, 2021

गीत

 

गीत
 
 
सरण राई
 
समय खोला हो, बगिरहन्छ, बगेर जान्छ, थुनेर राख्न सकिन्न
वैश त झन् पन्छि हो, उडेर जान्छ, थामेर राख्न सकिन्न
बाँचुन्जेलको जीवन हो, जे जे गर्नुछ, बाँचेकै बेला गरौँ न
बाँचेकै बेला, बाँचेकै बेला .... बाँचेकै बेला गरौँ न !
बाँचेको छौँ, र, संसार भोगिरहेछौँ, बाँचुन्जेलको जीवन हो
सुन्दर भाव, सुन्दर विचार, सुन्दर जीवन बाँचेकै बेला रोपेको
सुन्दर भाव, सुन्दर विचार, सुन्दर जीवन हुँदैन कहिल्यै एक्लो
हुन्छ सबैको मनमा... हुन्छ सबैको मनमा बाँचेको !
राम्रो गरेमा राम्रै हुन्छ, भुलेर पीर, सुन्दर संसार सृष्टि गरौँ
माया, माया प्रेमकै रमाइलो सुन्दर जीवन-फूलबारी रचाैँ
बाँचुन्जेल हाे जीवन, हाँसेर, हाँसेर फूलबारी-संसारमा बाँचौँ
सुन्दर भाव,सुन्दर विचार, सुन्दर जीवन ...बाँचाै, बाचाैँ !
🌹
२०७७ फागुन ६, बिहान २.३०
🌹🌹


Thursday, April 1, 2021

(अभिव्यक्ति -उच्छ्वास कविता) जीवन

 

(अभिव्यक्ति -उच्छ्वास कविता)
जीवन
 
 
सरण राई
 

 
हार्दाहार्दा
बालपन,युवा-तन्नेरी काल
हारेर सब गुमाएर एक्लाे उजाड धरातल
सबथाेक हारेर पनि छाेडिदैन जीवन-ज्युने खाल !
टाट ! टाट जुवाडे खालबाट जबर्जस्ती निकाल
यही रहेछ जीवनकाे शाश्वत हाल
टाट भएपछि लात्तैलात्ताले भकुरीएर जानू छाडेर खाल जीवनकै अन्तिम हाल ! कि धरती छाड्ने सुन्दर चाल ! ?
🌹
२०७७चैत १५
🌹

🌹

Sunday, December 6, 2020

(अभिव्यक्ति उच्छ्वास) धुलाे

 

(अभिव्यक्ति उच्छ्वास)
धुलाे
 
सरण राई
 
सम्झने काेही भए
आखिर रहने त्यही एक मात्र रहेछ
सम्झनका लागि पनि
जाेजन मिल्नै पर्ने
माटैमा मिल्नेकाे सम्झना पनि
एक दिन धुलाेमै मिल्ने रहेछ ¡¿


 
धुलाेबाटै आयाैँ
के काे चिन्ता ¿¡
माटाेले बनेकाे मुर्ती
अन्तमा धुलाेमै बिलायाैँ !?

 
🌺
 
 
 

 

Monday, November 30, 2020

(आजकाे कविता) पिरलाे आफैसित छ

 

(आजकाे कविता)
पिरलाे आफैसित छ
 
सरण राई
 
पिरलाे आफ्नाे आफ्नाे
पिरेकै छ, पिरलाे ! 
 
पिरलाे आफैसित छ
पिरेकाे छ कसैलाई
नुनले - नुन भुटन तरकारी झ्वाँइ पार्ने कसरी
गुणले - तिर्ने हाेला के गरि
सुनले - थुपारियाे लुकाउने के गरि
घुनले - सर्लक्क खान थालेकाे छ देह
निकाे पार्ने के गरि
छाेड्नु त पर्छ नै संसार
तर मन बुझाउने कसरी ?
 
भन ए मायालु! मनकाे पिरलाे
मन - बहकिरहन्छ...थामाैँ के गरि ?!
🌼
२०७७ मङ्सिर १५, धरान
 
 
 
 

 

Tuesday, November 17, 2020

(लघुउच्छ्वास) के बाेलाैँ ?


 (लघुउच्छ्वास)

के बाेलाैँ ?

सरण राई

लेखाैँलेखाैँ , खेला‌‌ैँखेलाैँ लाग्दालाग्द‌ै
लेख्दालेख्दै पेन्सिल सकिए झैँ
घस्रिदा घसिदै पनि गन्तव्य नभेटिकनै
तुरिने जिन्दगीबारे के भनाैँ ?
नबुझिने मनुष्य चाेला केसित तुलना गराैँ ?!
खर्च नगरी साच्न सकिने भए पाे समय
फाराे गरि राख्न सकिने भए पाे जीवन
क्षणभङ्गुर ! विरक्तिएकाे मनले के खेला‌ैँ
माया गर्दागर्दै छाडनुपर्ने धरतीबारे के बाेलाैँ ?!
🌺
२०७७मङ्सिर २ मङ्गगलबार


🌼🏵️🌼


Sunday, November 1, 2020

देख्न नपाईने

 

(आजकाे कविता)
देख्न नपाईने
 
 
सरण राई

 
 
बाचुन्जेल बाचेकाहरूले नदिने
बाचुन्जेल नचाहिने नपाईने
मरेपछि शत्रु मित्रु पत्तुरले समेत दिने
तर आफुले देख्न नपाईने
हाे रहेछ है
श्रध्दाञ्जली हार्दिक भावपूर्ण रे, रे !
 
जिउँदाे हुँदा नपाएकाे
माया प्रेमभन्दा ठूलाे श्रध्दाञ्ली हुन्छ रे !
 
देख्न नपाईने श्रध्दाञ्जली चाहिएन मलाई
सक्छाै भने देऊ अहिले नै
प्रेमकाे फूल
सम्झि बाँचेकाकाे अलिकति भलाई
बाँचिरहेकै बेला है !!!
 
२०७७/७/१५/७
 
 
 
 
 

Monday, September 7, 2020

(अभिव्यति उच्छवास-कविता ) जानेकाे बाटाे

(अभिव्यति उच्छवास-कविता )
जानेकाे बाटाे 
 
 
सरण राई 
 
 
म हराएँ भने
नखोज्नु
म सांसारिकता झेल्न नसकी 
 
म गएँ भने
नपर्खनु
बस्न खप्न नसकि निर्माेही जीवन
नकर्कने गरि गएकाे पनि हुन सक्छु !
 
सम्झनु
जानेकाे बाटाे बस्नेकाे माटाे
नथुन्नु आँसुले
जति माया लागे पनि जानेकाे बाटाे !
 
 
🔴
२०७७ भदौ २१
 

 

 

Wednesday, August 19, 2020

चित्रण

 

चित्रण
 
 
सरण राई
 
 
रणभुल्ल किंकर्तव्यविमुढ दाेधारमा छु साथी
कसरी जाऊँ माथि - माथि
हाँस्दै कि.. .झेल्दै पीर व्यथा
तुरेर छाेटाे क्षणिक घुर्मैलाे कथा
 
 
लेखिएर मेटिने अक्षर ब्लाकवाेर्ड, चक र डस्टर
लेख्ने अरू हुँदै हैन आफै हाे सुप्रिम मास्टर
मानव संसार, अन्तिम आयाम, अन्तिम स्वीकाराेक्ति
के कसरी कुन कहाँ कैले काे कति हुन्छन् थिए- थिए ती
 
 
नाटक निबन्ध आख्यान कविता हाेइन मान्छे
जसरी गरे नि चित्रण बेनियम बेफ्वाक ठान्छे
चित्रण हाे एकै हुन्न देख्ने भाेग्ने फरक हुँनाले
गाेरेटाे बाटाे बाङ्गाेटिङ्गाे हिडाइ आआफ्नाे भईदिनाले 
 
 
बलिरहन्छ उज्यालाे छरिरहन्छ, अाफ्नाे चरित्रानुसार दियाे
निभ्छ,अँध्यारैमा पनि सम्झनेहरू भन्छन् अघि प्रकाश थियाे
के बन्ने ? घाेच्ने काँडा कि मुस्कुराउँन सिकाउने प्रेरक फूल
क्षणभङ्गुर साेचेर दुई दिनकाे चाेला नगराैँ है भारी भुल !
 
🔴
२०७७ भदाै १ र २
🔥☯️
🔥

Sunday, July 19, 2020

राजनीति अायाे, देश बचायाे

(अाजकाे कविता)
 राजनीति अायाे, देश बचायाे !

 सरण राई

राजनीति साँचाे साँचाे हाे सुख चैन उन्नतिकाे
प्राण हाे , रक्त, श्वास -प्रस्वास , धडकन मात्र नभई
जीवन हाे , प्राण र प्राणदायि अस्तित्त्व सार्वभाैम हाे देशकाे  !

 बिदेशीकाे रिमाेट सञ्चालित फाेहारी राजनीति फालेर
देशकाे लागि देशकै माैलिक सर्वाेपरि शक्तिसाली राजनीति चाहियाे
माैलिक स्वाभिमानी स्वरक्षित स्व-राजनीति अायाे, देश बनायाे  !

माैलिक स्वाभिमानी स्वरक्षित स्व-राजनीति अायाे !
 देश बनायाे  !! देश बनायाे र देश बचायाे !!!

२०७७ साउन १, धरान

Monday, June 29, 2020

मुक्तक

मुक्तक

सरण राई


"बाटो न घाटो दगुर्छ लाटो' भएछन्
खाएर गलगिध्द नेता मोटाएको हेरेर
' खान पाइन्छ कि' भ्रम पालेछन्
भ्रान्तिमा महाआसे बबुरो जनता भएछन् |


विकास र गरिबीको नाम गरि खरबौ रिण लिएको छ
सिप इलम जिविकाेपार्जन नसिकाई मगन्ते बनाएको छ
पी. आर .ग्रिनकार्डवालालाई नेपालीको के माया हुन्छ
त्यागेकाे देश कङ्गाल बनाई आफ्नो बैक एकाउन्ट भर्नु छ |


'आकाशको फल आँखा तरी मर' मुलुकको विकाश बनाए
पी.आर.,ग्रिनकार्डवालाले राष्ट्रीय सम्पति निकास लगाए
राहत सहयोग बिकास रकम समेत खाइ अघाई पचाए
जागेका जनताले विदेशका दलाल राष्ट्रघातीहरुलाई तुर्लुङ्ग झुन्डाए |


🔴

परिमार्जन  २०७७ असार  १५






Saturday, June 20, 2020

के राम्रो ? के नराम्रो ?

के राम्रो ? के नराम्रो ?


सरण राई

"थपिदै छन्, थपिदै छन् "
म भन्छु , तिमी भन्छौ "राम्रो !"
"राम्रो, भुत्राको राम्रो
थपिदै छन् मधुमेह्कासाथ उच्च रक्तचाप
हृदय रोग, थाइराइड + आयुघट बुढेसकालका रोगहरू !"

"घट्दै छन्, घट्दै छन् "
म भन्छु , तिमी भन्छौ "राम्रो ! राम्रो !"
भुत्राको राम्रो
घट्दै छन् जीवनका बाँच्ने दिनहरु
संसारमा प्रियजनहरुसँग बस्ने रमाइला क्षणहरु !"

"के राम्रो ? के नराम्रो ?" "
म सोध्छु , तिमी भन्छौ "सबथोक राम्रो!"
प्रकृतिको क्रमिकतामा _ जीवहरुको जोड घटाउ
रचना , संरचना , संसार , सृष्टि , विनास
नयाँ नौलो क्यानभास, इन्द्रेणी रंगरोगन र उनको कलाकारिता राम्रो !"

२०६९ माघ ७ ,धरान

Monday, June 8, 2020

(आजकाे कविता) उद्घाेष

(आजकाे कविता)
उद्घाेष


सरण राई


आजसम्म मनपरी गर्याे
कहिले त्याे गाेठमा कहिले यो गाेठमा
हाम्राे सहमति बेगर सार्याे; गाेठ गाेठ मिसायाै भेडा सम्झेर !

अब देखियाे तिम्राे असली रूप
तिमी बिकेका रहेछाै
कार्यकर्तालाई पनि बेच्न चाहदा रहेछाै
देश बेच्न कसैले नसकेझैँ
नबेचिने हामी ! बिक्ने कार्यकर्ता हाेइनाै !!

हाम्राे सहमति बेगर गरिएका निर्णयले
गाेठ मिसाउने दलालका भेडा हाेइनाैँ हामी
तसर्थ राष्ट्रघातलाई लात्तैलात र राष्ट्रघातीलाई लात हान्छाैँ हामी !!!

🔴
२०७७ जेठ २६, लकडाउन

🔥🌹🔥

🔥🌹🔥धुर्व राईको पिताज्यु , भाई शिवकुमार राई  र  सरण राई

Friday, May 8, 2020

(आजकाे कविता) देशका लागि

(आजकाे कविता)
देशका लागि


सरण राई


भाेक राेग अभाव राष्ट्रघात अन्याय अत्याचार देख्दा मुटु दुख्थ्याे
त्यस विरूध्द लड्न उम्लेकाे रगत उठेकाे मुड्की एकजुट हुन्थ्याे
सबै मुटु एकठाउँ राखी जाेसिलाे राष्ट्रवादी स्वर ढुकढुकि सुन्थ्याैँ
राष्ट्र जति दुखाेस् साेलाेडाेलाे मुटु नै बेचिसकेपछि अब के दुख्थ्याे ?!

-।।- -।। -

जिउँदा वीर देशप्रेमीहरू देशभरि छन्
राष्ट्रवादी मुटु बालेर महाज्याेति छर्छन्
अखण्ड सार्वभाैमिकता देशरक्षा गर्छन्
राष्ट्रियअखण्ड एकता कायम राख्छन् ।

-।।- -।। -

मातृभूमि बचाउन अब सब ब्युझेका छन्
देशका लागि जेपनि गर्न लड्न तयार छन् !

🔴
२०७७ वैशाख २७ , लकडाउन
🔥🔥🔥