Popular Posts

Saturday, August 27, 2011

धरान

धरान
जसलाई केही दिन्छे
उसबाट केहि पाउदिन
जसबाट केही पाउँछे
केही दिन नसकी लज्जित हुन्छे
दिने र पाउने
मोलतोलको व्यापारमा
धरान
इनरुवा भएर निर्लज्ज शासन गर्न सक्तिन
पोखरा भएर
रूपको खेती गर्न सक्तिन
बिराटनगर भएर
सत्तामा पुग्न नसकेकी धरान
कुल्चिने पाइला भएकी छे
कुल्चिइने  पाईताला भएकी छे |

जसले जति कुल्चे पनि
बाँचिरहेकी  छे
बाँचिरहेकी हुन्छे ... मायालु धरान |


लक्ष्मी सडकका कविता ' बाह्रौ संकलन (२०६६ )




लिएर जाने के होला ?

म यहाँ यसरी हराएँ
जसरी  जंगलमा एउटा पात
जसरी मरुभूमिमा एउटा कण
जसरी अन्तराल समयमा एउटा क्षण
एउटा कणको के गणना
एउटा क्षणको के गणना
तर, साथी
कणहरुकै थुप्रो हो मरुभुमि
क्षणहरुकै अविरल प्रवाह हो समय
थोपाहरुकै  जमघट हो समुद्र
म एउटा थोपा सुकेर जाने
एउटा कण उड़ेर जाने
एउटा क्षण बितेर जाने

बिम्ब हु कि प्रतिबिम्ब
म ..... ?
के लिएर आएको थिएँ
लिएर जानुपर्ने के होला
सब थोक यहीँ  थियो
मेरो हो भन्ने भ्रम पालियो
साथी
अझै मलाई भ्रान्ति छ
आखिर , लिएर जाने के होला ?

साभार
उद्घोस , अंक -१ वष -१ (२०५८ )










कसिएको मुट्ठी हाम्रो हो

भाचिएको  पाखुरा हाम्रो होइन
कसिएको मुट्ठी हाम्रो हो
अनि पानी  जस्ता पातला पूर्व कथाहरु हाम्रा होइनन
रगतले रङ्गिएको बाक्लो इतिहास हाम्रो हो |

मात्र आकाश हाम्रो होइन
यसभित्रका हरिया धरतीहरु
असंख्य ताराहरु
अनि
आँसुमा डुबेका हरेक मुटुहरु
अनेक फराकिला छातीहरु हाम्रा हुन् |

मात्र  भावुकता हाम्रो होइन
कठोर व्यवहारिकता  हाम्रो हो
अनि
धुवा जस्तो उड़ेको अस्तित्व हाम्रो होइन
 ज्वाला भएर बलिरहेको जिन्दगी हाम्रो हो |
मात्र  खरानी हाम्रो होइन
 यसभित्र भएका मसिना झिल्काहरु
हामि भुल्दैनौ
सल्किरहेका कोइलाह्ररु , फिलिंगाहरु
जल्दो बल्दो ज्वालाहरु हाम्रा हुन्
 अनि फक्रिरहेका फूलका राता किरणहरु
हिउँद वर्षमा  रुझेका कलिला मुनाहरु हाम्रा हुन् |


भाचिएको  पाखुरा हाम्रो होइन
कसिएको मुट्ठी हाम्रो हो
अनि पानी  जस्ता पातला पूर्व कथाहरु हाम्रा होइनन
रगतले रन्गीएको बाक्लो इतिहास हाम्रो हो |

'पन्चामृत '(साहित्यिक मासिक )कार्तिक -मार्ग ,अंक-११-१२ (२०२६ )















Friday, August 26, 2011

हामी लहर हौ

असन्तुष्टि हामीभित्र
हामी अन्यायको बिरोधमा
शोषणको बिरोधमा  उभिन्छौ   माथा बनेर
छालहरु समुन्द्रको एक पछी एक
अनेक लहर भएर उभिन्छौ  |

झुल्किरहेको प्रभातको रातो घाम हेरेर
हामी आफूभित्र साहसको संचार गर्छौ
फैलिरहेको हिंसाको बिरोधमा
हामी मानवताको गीत गाउछौ
मेची हाम्रो हो अनि महाकाली
सुस्ता हाम्रो हो
हाम्रो हो लाखौ सहिदहरुको रगतले  रंगीएको देश
हाम्रो हो हजारौ हिमाल र पर्बतहरुले सुशोभित देश |

श्रध्दा मुटुभित्र
नेपाल हाम्रो पुण्यभूमि
प्राण हाम्रो पुन्यभुमिमा चढ़ाइने फूल
विकाशको खुड़किलाहरू एक पछी अर्को
क्रमस चढ़दै हामी उक्लिंछौ
रोइरहेकी आमाको आँसु हेरेर
हामी छोराको भविष्य कल्पन्छौ
बढिरहेको थिचो-मिचोको बिरोधमा
हामी अमर संधर्ष गर्छौ
ढ़ाकर हाम्रो हो अनि तोक्मा
खुकुरी हाम्रो हो
हाम्रो हो पसिना र रगतले मुछिएको जीवन
हाम्रो हो भोक र प्यासले रापिएको  कठॉर जीवन |


असन्तुष्टि हामीभित्र
हामी अन्यायको बिरोधमा
शोषणको बिरोधमा  उभिन्छौ   माथा बनेर
छालहरु समुन्द्रको एक पछी एक
अनेक लहर भएर उभिन्छौ  |

साभार - 'जनजागृति ' वष -१,अंक -१ (असोज २०२६ )




















दुइ दिनको जिन्दगानी





जीवन
म ताक्छु मुढो , बन्चरो ताक्छ घुडो

जिउने रहर
जान्छ गोठको बहर
आफैॅ  महादेव कसले दिने बर

 
रानी बनाउदा कानी
यस्तै रहेछ दुइ दिनको जिन्दगानी

जीवन _ जोड , घटाउ र भाग गर
मृत्यु _ हात लाग्यो सुन्य
जीवन र मृत्युको हिसाब _ आखिर सब बराबर
 

साभार - 'मानव संसार ' उपन्यास

अन्तिम सन्देश




वाक्य बसिसकेको छ
बोल्न त के
ओठ समेत चल्न सकेन
इशारा गर्ने सामर्थ्य  छैन
मुन्टो घुमाउन नसक्ता
नानी आँखाको घुमाएर, हेरेर
आँसु झार्न चाहन्छ होला
जीवनले साथ नदिँदा
आँसु आँखामा जम्न सकेन
आँसु समेत झार्न सकेन
अन्तिम क्षण–अन्तिम बेला
कठैबरा ! बिचरा !!
अन्तिम सन्देश भन्न सकेन /बोल्न सकेन
संकेतले पनि व्यक्त गर्न सकेन ...च्च..च्च...
अन्तिम बेला अन्तिम सन्देश छो..छोडन सकेन ।

धरान
http://samakalinsahitya.com/index.php?show=detail&art_id=2513

समकालीन साहित्य
.

Wednesday, August 24, 2011

देशको मुटु

आज देश
केहि ठुला टुक्राहरुमा बिभाजित छ
जुन प्रत्येक टुक्राहरु एक एक ठुला-बडाको भागमा परेको छ
अंश- बन्डा
धनको भाग - बन्डा  यसरि भएको छ कि
लाग्छ, देश ठुलो पाउरोटी हुन् गएको छ
जसले जति ठुलो टुक्रा निल्न सक्छ , निले हुन्छ
जो जति धेरै मोटाउँ न सक्छ , मोटाए हुन्छ
जसले  जति धेरै चुडाएर  बेच्न सक्छ , बेचे हुन्छ
मोटाउने, निल्ने र बेच्ने क्रममा
देश जीवित भएर बाँच्ने भए  यसको मुटुमा
प्रत्येक टुक्राका प्रत्येक ठुला-बडाले एक एकवटा पिन घोप्दै
देशको मुटुलाई छिया छिया पार्दा निस्केको आवाजसंगै
आफ्नो बीरत्व , पुरुषार्थ  र साहसको गीत गुन्जाउने थिए
जुकाले झैँ देशको रगत चुसेर आफ्नो महानताको बिगुल बजाउने थिए
आफ्नो  चातुर्य, विवेक र देशप्रेमको तथाकथित इतिहास
देशको मुटुबाट बगेको रगतले लेख्न लगाउने थिए
अनि , टी. बी. र क्यान्सरले खाइसकेको देशको छातीमाथि उफ्रदै
ताण्डव न्रित्य  गर्दै
जसको भाग उनीहरुले लुटेर खाए
जुन  देशवासीहरुलाई चुसेर खोस्टो झैं बनाए
उनीहरुको  बिरुध्द जहिल्र पनि
जस्तो सुकै अस्त्र -सस्त्रको प्रयोग गरेर लडन परे पनि
युध्दको  एकतर्फी घोषणा गर्दै
देशको मुटुमा घोपीएको पिन हातमा उजाउदै
लाखौ  पीडित मुटुहरुमा घोप्न जाइलाग्ने थिए
लाखौ शोषित मस्तीश्कहरुमा हमला गर्न जाइलाग्ने थिए
लाखौ शोषित हातहरुलाई वशिभूत पार्न जाइलाग्ने थिए
फलस्वरुप , लाखौ मुटुहरुबाट बगेको रगतले
लाखौ वशीभुत हुन् नसकेको हातहरुको स्वतन्त्रताले
नंया बिहान जन्माई सकेको हुनेछ
नयाँ  जीवन निम्त्याई सकेको हुनेछ
र  त्येतिबेला , देश टुक्रा टुक्रामा बिभाजित हुनेछैन
देशको मुटुमा पिन घोप्ने
अर्काको भाग खोसेर आफु मोटाउने पध्दति रहने छैन
र, त्येस  बेला _
देश, माटो, हावा., पानी सबै सबैको साझा भैसकेको  हुनेछ
सबै देशवासीको मुटु साझा मुटु भैसकेको हुनेछ
सबै सबैको रक्तको साझा थोपा भैसकेको हुनेछ  |



साभार
'उत्साह ' पुर्नाङ्क  ४८ (२०४४)






































मृत्यु बाटाभरि फुलिरहने हुन्छ

जीवनको
माधुर्य, तृप्ति र पुर्णता खोजि गर्दै
आशाको आकाशमा उड्दै
फुल झैं कहिले म मुस्कुराउँछु
पुर्ण स्वाद जीवनको लालशा बोक्दै
निराशाको पोखरीमा डुब्दै
फुल झैं कहिले म ओईलाउँछु , तर फेरी
अलौकिक उज्यालोको लागि
अनन्त शान्तिका लागि
दान्को झैं आफ्नै मुटु मसाल झैं बालेर हेर्दा
आफूभित्र एउटा भ्रान्तिको संसार देख्छु
भ्रमको रमझम परिणतिमा रमाईरहेको
भुलिरहेको म मेरो मानिस पाउँछु आफूभित्र
जब मृत्यु बोकेर हिडिरहेको म
मृत्यु टिप्न लालायित हातहरु पसारेर
घोप्तिन्छु मृत्यु टिप्न
तब मृत्यु मेरो कानमा साउती गरेर भन्छ
पथिक, नझुक मृत्यु टिप्न यात्रामा
नरोकिई बढीरह अगाडी जीवन पथमा
किनकी मृत्यु तिम्रालागी बाटाभरि सधैं फुलिरहने हुन्छ |
  
  
 साभार
मधुपर्क  बर्ष -२५, अङ्क -१, पुर्णाङ्क - २७६ (जेठ, २०४९

मानिस



  • आदर्शको आकाशमुनि
    आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा
    बिभिन्न स्वार्थका छाताहरू ओढेर
    मानिस अथाह  मानिसको भेलमा बगिरहेको छ
    मानिस अथाह  मानिसको मेलामा हराईरहेको छ
    रेशमको किराझैँ
    मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ |

    आदर्श र यथार्थको दुई समानान्तर रेखाहरु बीच
    घडीको पेन्डुलमझैँ मानिस
    कहिले आदर्शको रेखामा उभिएर सम्भाषण गरिरहेको हुन्छ
    कहिले यथार्थको धरातलमा उभिएर
    स्वार्थको बिगुल बजाई रहेको हुन्छ
    मानिस कति आदर्श र कति यथार्थको समिश्रण हो
    मानिस कति प्रकाश र छायाको रङ्गीन चित्र हो
    मानिस कति फूल हो
    मानिस कति पात हो
    मानिस कति काडा हो | अनि
    आदर्शको पारसले छुँदा मानिस कति सुन हुन्छ
    स्वार्थ-सिध्दिको अग्नि-कुण्डमा पोल्दा
    मानिस कति डरलाग्दो फलामे हतियार हुन सक्छ
    प्रेमको मायालु रापमा पग्लिएर
    हिउँझैँ कति शीतल हुन सक्छ मानिस |

    मानिस अनन्त रहस्य
    जीवन असीम कौतुक भइदिनाले
    भोग्न रहर लाग्दो हुन्छ
    जति भोगे पनि जीवनमा
    नौलो आस्वादन प्राप्त भइरहेको हुन्छ
    जीवन रुचिकर प्रिय हुन्छ
    जीवनको पुर्ण स्वाद थाहा पाउन
    हजार ययातिको जीवन पनि अपर्याप्त हुन्छ |

    सिध्दि, मोक्ष  , मुक्ति
    मानब मनको दिब्य आकाङ्क्षा
    पक्षीझैँ उन्मुक्त आदर्शको आकाशमा
    उड्न चाहान्छ मानिस
    शान्तिमय शीतल अनन्तमा
    विचरण गर्न चाहान्छ मानिस
    प्राप्ति, उपलब्धि
    सफलताको साङ्गळोले बाँधिएको मानिस
    प्रकृतिसँग सिंगौरी खेल्दै
    प्रकृतिलाई परास्त गर्ने बिजेताको सपना देख्छ
    जति अघि बदन चाहान्छ
    भौतिक प्रगतिको प्रतेक लहरसित
    उपलब्धिको डुङ्गा चढेको मानिस
    आफ्नै अन्तर्मनको किनारादेखी टाढ़ा  गईरहेको हुन्छ |

    प्रेम, माया, मोह
    जीवनको सर्बोच्च स्थिति
    मानिस प्रेम सागरमा पौडी खेल्न चाहन्छ
    स्वच्छन्द अतुलनीय गहिराइमा डुबेर
    जीवन अनुभब गर्न चाहान्छ
    बिलाउँदै पानीको थोपाझैँ
    उत्कर्ष , समर्पण, बिलयमा जीउन चाहन्छ
    त्यागमा सन्तुष्टी छ
    प्राप्तिमा सन्तुष्टी छ
    कति त्याग र कति प्राप्तिको जोड हो मानिस
    कति सुख र कति दु:खको मेल हो मानिस
    मानिस कति प्रेम हो
    मानिस कति घृणा हो
    मानिस कति सङ्घर्ष हो | अनि
    मायाले थपथपाउदा मानिस कति मानिस हुन्छ
    मोहको जालमा फस्दा
    मानिस कति जनावर हुन सक्छ
    पेटको रापिलो भट्टीमा परेर
    माकुराझैँ कति स्वार्थी हुन सक्छ मानिस |

    भोक शाश्वत यथार्थ
    तृप्ति मनोहर आवश्यकता भइदिनाले
    मानिस कर्मवीर भइरहेको हुन्छ
    अतृप्त जिब्रोझैँ  पुर्ण तृप्तिको खोजीमा
    दिन रात रातदिन भौतारिरहेको हुन्छ
    पुर्ण तृप्तिको बिन्दुमा पुग्न
    हजार संसारको सम्पति पनि अपर्याप्त हुन्छ | 

    सत्य , न्याय, शान्ति
    उच्च आराध्य सौन्दर्य
    ब्रमाण्ड बिजेता बन्न चाहने मानिस
    आफ्नै मूल थलो पृथ्बीलाई  क्षेप्यास्त्रहरुले भरेर
    अन्तरिक्षमा शासन गर्न चाहन्छ
    बिनाश , महा विनाशको सृष्टि गरेर
    अमर बन्न चाहान्छ मानिस
    बारुदमाथि बसेर
    आगो खेलाइरहेछ मानिस
    मृत्यु थुपारेर जीवनको गीत गाइरहेछ मानिस | अनि
    शस्त्र , शक्ति, सन्तुलन
    मानिसको प्रतेक 'अहम्'सित
    सृस्टिभन्दा देरै टाढ़ा
    लयहीन प्रलयको निमन्त्रणा गरिरहेछ मानिस
    प्रलयको प्रतीक्षा गर्नु
    बारुदमाथि बसेर आगो खेलाउनु
    मतिभ्रम भएको मानिस
    आफ्नै भविष्यको सुन्दरताबाट टाढ़ा भइरहेको छ |

    आदर्शको झरीमा नरुझ्न
    स्वार्थको रङ्गीन छाताहरू ओढेर मानिस
    कति समयसम्म स्वार्थको कोकिनमा कैदी भएर बस्न सक्छ ?



    साभार
    मधुपर्क २०४७,असोज (वर्ष २३, अङ्क ५ पूर्णाङ्क  २५६ )

    · · Share · Delete


      • Atit Mukhiya सचेतना भित्रै अचेत मानव आकृतिलाई दर्शन र विम्वका रसायनमा गालेर स्वार्थको लाभाले पचाएका आदर्शका अणु कनिका खुटाउने शैली मनोरम लाग्यो । हरेक ड्रगएडिक लाई नशाले जीवन हर्छ भन्ने थाहा भएरै पनि नशा सेवनको कुलत छाढन नसक्नु जस्तै अर्को नशा हो स्वर्थको कोकिन जसलाई आदर्शको रंगिन छाताले छेकेर सेवन गरिन्छ आजकल । मीठो सृजनाका लागि सर्जकलाई अन्तरमन देखि कै प्रशंसा ।
        November 27, 2010 at 9:51pm

      • बिष्णुनन्द चाम्लिङ्ग बास्तबिक मानिस भित्र रहेको मानिसको कथा , ब्यथा ....सुन्दर बिम्ब र प्रतिकको रुपमा प्रयोग मानिस ..........
        "बारुदमाथि बसेर आगो खेलाउनु
        मतिभ्रम भएको मानिस
        आफ्नै भविष्यको सुन्दरताबाट टाडा भइरहेको छ |" सुन्दर कविता सर्जकलाई हार्दिक धन्यबाद !! ।

        November 28, 2010 at 9:51am ·.

      • Govinda Subba Your expression is very appealing
        November 28, 2010 at 2:16pm · 

      • Sarankumar Rai thank you .
        November 29, 2010 at 1:20pm · 

      • Ramji Timalsina The poem reflects a complete Sharan Rai?
        January 18 at 10:26pm · 

      • Dipa Limbu Rai the person is still living in it's dreams.. what a good poem !!
        June 1 at 10:11am ·

      • Madhav P Pokharel शरणजी, मलाई तपाईँको कविता मन पर्‍यो ।
        June 1 at 6:00pm ·

      • Indreni Sharma jiwan ko ra maanisko parbhaashaa jatil chh, shaayad dhrai kabi kathaakaarko mashi yahi khojaaimaa bityo .hami ta dherai pachhi chhu
        June 2 at 4:40am · · 2 peopleLoading...

      • Madhu Madhurya sundar kavita , badhai chha : आदर्शको झरीमा नरुझ्न

        स्वार्थको रङ्गीन छाताहरू ओढेर मानिस

        कति समयसम्म स्वार्थको कोकिनमा कैदी भएर बस्न सक्छ ?

        June 8 at 7:44pm · 




     



सरण राईको परिचय

' सरणको साहित्य ' मा भएका कविताहरु  सरण राईले रचना गर्नु भएको हो  |

सरण राईको परिचय  

नाम - सरण राई   (पुरा नाम -सरणकुमार राई )
 जन्म स्थान -छिनामखु , भोजपुर 
जन्म मिती - २००४ चैत २४  सोमबार 
शिक्षा  - एम . ए.
ठेगाना - धरान , १९, नेपाल 
प्रकाशित  पुस्तकहरु -
Unpublished Book
Another Ray Of Sunshine( Translated in English-Collection of Short Stories)
मेरा प्रकाशित पुस्तकहरु
१. केहि कथा केहि कविता (२०३९ ) (सहलेखन)
२. साथी ( निबन्ध सङ्ग्रह , २०६४ ),
प्रकाशक  बिहनी प्रकाशन सहकारी संस्था लि.
३. मानव संसार (उपन्यास ,२०६५ )प्रकाशक– उपयाेगी प्रकाशन
प्रकाशक ४. अन्तिम स्वीकारोक्ति ( कथा सङ्ग्रह ) , २०६६ )प्रकाशक–साझा प्रकाशन
५. उड़ान ( युवा) मनको (इन्टरनेटमा मात्र प्रकाशित उपन्यास)
६.ओइलिने फूल (कविता सङ्ग्रह )२०६५
७. अन्तिम आयाम ( कथा सङ्ग्रह ) , २०७४ ,
प्रकाशक–पाँचपोखरी प्रकाशन गृहबाट(फाेन नं.०१ ४२२१६३४ , ०१ ४२२३५७५) 
८.नाैरङ्गी –एक सय एक लघुकथा २०७६, प्रकाशक–पाँचपोखरी प्रकाशन गृहबाट(फाेन नं.०१ ४२२१६३४ , ०१ ४२२३५७५)
मेरो रचनाहरु हेर्नका लागि
सरणको साहित्य
http://saranr.blogspot.com/ /
http://kathaasansar.blogspot.com/ http://saranessay.blogspot.com/
http://saran-rai.blogspot.com/



Email--   rai.saran50@gmail.com
फोन. न. +९७७ २५ ५२०७४२ 
मोबाइल -+९७७ ९८४२०५५२६२